जनकपुरधाम, ३० वैशाख । सामुदायिक विद्यालयको गुणस्तर घट्दो क्रममा रहेका बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह विद्यालय अनुगमनमा खटिएका छन् ।

मंगलबार धनुषा जिल्लाको हँसपुर नगरपालिकाका दुई विद्यालयमा गरिएको अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले गम्भीर अनियमितता र लापरवाही फेला पारेका छन् । शिक्षा सुधारलाई प्राथमिकता दिने संकेत दिँदै उनले अब ‘अनुगमन मात्रै होइन, कारबाही पनि’ को चेतावनी दिएका छन् ।

हँसपुर–२ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बघचौडको निरीक्षणको क्रममा मुख्यमन्त्री सिंहले कागजमा मात्र देखाइएका विद्यार्थीहरूको नाममा छात्रवृत्ति, खाजा, शैक्षिक सामग्री जस्ता सुविधा लिइएको पत्ता लगाए । उनले भने, ‘कागजमा विद्यार्थी सरकारी स्कुलमा छन् । तर, वास्तवमा तिनीहरू निजी विद्यालयमा पढिरहेका छन् । यो प्रदेशको शिक्षालाई बदनाम पार्ने प्रवृत्ति हो ।’

मुख्यमन्त्री सिंहले यस्ता अनियमिततालाई ‘सरासर धोका’ भन्दै शिक्षक, कर्मचारी र व्यवस्थापन समितिको भूमिकामाथि गम्भीर प्रश्न उठाए । उनले विद्यालय व्यवस्थापन समितिलाई समेत सचेत गराउँदै सुधारका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।

मुख्यमन्त्री सिंहले विद्यालय भवन र संरचना सुधारिएको भए पनि पढाइको गुणस्तर खस्किएकोप्रति चिन्ता व्यक्त गरे । ‘पहिले भवन थिएन, तर पढाइ हुन्थ्यो । अहिले भवन छन्, तर विद्यार्थीको सिकाइ खस्किएको छ,’ उनले भने । उनले शिक्षा क्षेत्रमा देखिएको बेथिति हटाउन अभिभावक, शिक्षक, जनप्रतिनिधि र पालिकाबीच समन्वय आवश्यक रहेको धारणा राखे ।

शिक्षाविद् गुरु सुवेदीले विद्यालयमा नक्कली विद्यार्थी राखेर सरकारबाट विभिन्न शीर्षकमा रकम निकासा गर्ने प्रवृत्तिलाई ‘सरासर भ्रष्टाचार’ भन्दै कडा आलोचना गरे । ‘यस्ता शिक्षक र कर्मचारीलाई भ्रष्टाचार मुद्दा लगाएर कारबाही गर्नुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री सिंहले पनि यो विषय गम्भीर रहेको उल्लेख गर्दै प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोमार्फत सम्बन्धित निकायलाई छानबिन गर्न निर्देशन दिएका छन् ।

सोही दिन उनले हँसपुर–८ स्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको पनि निरीक्षण गरे । विद्यालयमा अत्यधिक विद्यार्थी चाप भएको देखिए पनि शौचालयको अभावले विद्यार्थीको स्वास्थ्यमा असर पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डलले शौचालय निर्माणका लागि बजेट निकासा भइसकेको र चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने आश्वासन दिइन् ।

मुख्यमन्त्री सिंहले प्रदेशभरका विद्यालयमा अनुगमन अझ कडाइका साथ गरिने बताएका छन् । उनले भने, ‘यदि सुधार आएन भने विद्यालयलाई दिइने अनुदान कटौती गर्नु सरकारको बाध्यता हुनेछ ।’ उनले यसअघि अस्पताल र होटलहरूको समेत निरीक्षण गरिसकेको उल्लेख गर्दै अब शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउने आफ्नो सरकारको प्रतिबद्धता दोर्होयाए ।

एक महिनाअघि मात्रै प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयले मधेश प्रदेशका सबै १३६ पालिकामा शिक्षण प्रणाली सुधारका लागि निर्देशन र विशेष सल्लाह पठाएको थियो ।