हाम्रो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार हो : मुख्यमन्त्री सिंह

सर्लाही, २९ वैैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले प्रदेशको विकासका लागि महत्त्वपूर्ण रणनीतिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार सर्लाही सदरमुकाम मलंगवास्थित यातायात व्यवस्था कार्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भने, ‘हाम्रो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार हो, ताकि प्रदेशको समग्र विकास सुनिश्चित हुन सकोस् ।’
मुख्यमन्त्री सिंहले आगामी अभियानलाई मुख्यतया शिक्षा क्षेत्रको गुणस्तर सुधारमा केन्द्रित गरिने बताउँदै सबै पालिका प्रमुख, शिक्षा शाखाका अधिकारीहरू र सम्बन्धित निकायलाई सहयोग गर्न अनुरोध गरे । उनले थपे, ‘मापदण्ड विपरीत सञ्चालन भइरहेका अस्पतालहरूमा कडाइ गर्नेछौं र सुरक्षानिकायलाई आवश्यक निर्देशन दिनेछौं, ताकि नागरिकको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता नहोस ।’
उनले श्रीराम कबिर मठले यातायात कार्यालयको लागि निःशुल्क ९ कठ्ठा जग्गा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘मठको संरक्षण र विकासको लागि सरकारले प्रतिबद्धता व्यक्त गरेको छ । यसले हाम्रो संस्थागत सहकार्य र समर्पणलाई अझ बलियो बनाउँछ ।’

श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले प्रदेश सरकारले सञ्चालन गरेको नयाँ सवारी साधन सेवा प्रणालीले सेवाग्राहीहरूलाई सहजता र पारदर्शिता प्रदान गरेको बताए । उनले भने, ‘डिजिटल प्रणालीमार्फत ट्रायल, दर्ता र नविकरण जस्ता प्रक्रिया धेरै सहज र पारदर्शी बनेका छन् । हामी अटोमेटिक ट्रायल सेन्टरको स्थापना गर्ने योजनामा पनि छौं । यसले यातायात प्रणालीलाई अझ आधुनिक र जनमैत्री बनाउनेछ ।’
यातायात कार्यालय मलंगवाका निमित्त प्रमुख शशि कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव युवराज अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह, नगर प्रमुखहरू, सुरक्षा निकायका अधिकारीहरू र कबिरा मठका महन्त लगायतको उपस्थिति थियो । सहभागीहरूले प्रदेशको समग्र विकास र नागरिक सेवा सुधारका लागि सरकारको प्रतिबद्धतालाई स्वागत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


