जनकपुरधाम, २९ वैशाख । बुद्ध जयन्तीको अवसरमा जनकपुरधामस्थित विषहारा पोखरी डिलमा पिपलको बोट रोपिएको छ ।

भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महाप्राण त्यागको स्मरण गर्दै सम्पूर्ण जीव जगतलाई जीवन, ज्ञान र शान्तिको सन्देश प्रदान गर्न पिपलको बोट रोपिएको हो ।

सेवा निवृत्त वनविज्ञ प्रदिप रेग्मीको ६७औं जन्मदिन पनि यसै दिन परेको हुँदा उनी परिवारसहित कार्यक्रममा उपस्थित भएका थिए ।

कार्यक्रममा जनकपुरधाम वन प्राविधिक समाजका प्रमुख संरक्षक समेत उपस्थित थिए । उनले यस कार्यक्रमलाई सफल बनाउन र जीव जनावर तथा प्रकृतिको संरक्षणमा योगदान पुर्याउन सबैलाई प्रेरित गरे ।

पिपलको वृक्षलाई भगवान बुद्धको प्रतीक मानिन्छ र यसलाई ज्ञानको रुखको रूपमा सम्मान गरिन्छ । यस कार्यक्रमले जीवनमा शान्ति र सद्भाव ल्याउने आशा व्यक्त गरिएको थियो । सहभागीहरूले यस कार्यक्रममा आफ्नो शुभकामना र दिर्घकालीन संरक्षणको प्रतिबद्धता व्यक्त गरे ।

वन निर्देशनालयका अधिकृत सुरेश शर्माले यस प्रकारको वृक्षारोपणले समाजमा वातावरणीय सचेतना र प्रकृतिको संरक्षणमा जागरूकता फैलाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।