जनकपुरधाम, २९ वैशाख ।
राजर्षिजनक विश्वविद्यालयले मिथिला कला सम्बन्धी बिए स्तरको अध्ययनका लागि नयाँ पाठ्यक्रम निर्माण गर्न पहिलो विस्तृत बैठक आयोजना गरेको छ ।

उक्त बैठक विश्वविद्यालयको मैथिली विकास कोषको नयाँ निर्माण भएको भवनमा आयोजित भएको हो । बैठकमा कला सम्बन्धित क्षेत्रका विशेषज्ञ, व्यक्तिहरू र संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकको सभापतित्व विश्वविद्यालयका प्राचार्य डा. सुरेन्द्र लाभले गरेका थिए । त्यस अवसरमा पाठ्यक्रम विकासको जिम्मा लिएका विज्ञ समितिका सदस्यहरूले आफ्नो प्राथमिक सुझाव र योजना प्रस्तुत गरे । विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र अन्य पदाधिकारीहरू समेत कार्यक्रममा सहभागी भएका थिए ।

मिथिला कला विषयको अध्ययनलाई उच्चस्तरमा पुर्याउने र यस क्षेत्रमा आवश्यक पाठ्यक्रम तयार गर्नु बैठकको उद्देश्य थियो । यसले अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई थप व्यापक र व्यवस्थित शिक्षा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यस कार्यक्रमको संचालनमा रहेका विज्ञ समितिका सदस्य सचिव प्रा. श्याम सुन्दर शशिले आफ्नो सचिवीय भूमिका निभाउँदै आवश्यक योजना र सुझावहरू प्रस्तुत गरेका थिए । साथै, यस कार्यलाई सफल बनाउनका लागि सहभागी सबै व्यक्तिहरूले सहकार्य र मिहिनेतको आवश्यकता औंल्याएका छन् ।

विद्यालयका पदाधिकारी र सहभागीहरूले कार्यक्रमको सफलताका लागि आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसले मिथिला कला सम्बन्धी अध्ययनको प्रवद्र्धनमा नयाँ अध्यायको शुरुवात हुने अपेक्षा गरिएको छ ।

यस प्रकारको पहलबाट मिथिला क्षेत्रको सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवद्र्धन गर्न ठूलो टेवा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए । उनले यसले विद्यार्थीहरूलाई उच्चस्तरीय अध्ययनको अवसर प्रदान गर्ने विश्वाससमेत व्यक्त गरे ।