धनुषामा बिहे भोजको खाजा सेवनपछि सय भन्दा बढी बिरामी

जनकपुरधाम, २९ वैशाख । धनुषामा एक विवाह समारोहमा खाजा खाँदा ठूलो संख्यामा व्यक्तिहरू बिरामी परेका छन् ।
धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीमा स्थानीय नरेश महराको छोरीको विवाह समारोहको स्वयम्बरपछि खाजा खाँदा ठूलो संख्यामा व्यक्तिहरू बिरामी परेका हुन् । यस घटनामा करिब सय जनाभन्दा बढी बिरामी भएको जानकारी प्राप्त भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट पाहुनाहरू ठेरा कचुरी पुगेका थिए । स्वयम्बर सम्पन्न भएपछि सहभागीहरूलाई खाजा खुवाइएको थियो । खाजा सामग्रीमा बुनियाँ, रसभरी र अन्य मिठाइहरू समावेश थिए ।
खाजा सेवन गरेपछि धेरै व्यक्तिहरूलाई पेट दुख्ने, वान्ता हुने, कमजोरी महसुस हुने समस्या देखा परेको हो । प्रमुख यादवले भने, ‘खाजा खाएलगत्तै पेट दुख्ने र वान्ता हुने क्रम सुरु भयो । त्यसपछि परिवारजन र बिरामीहरू अस्पताल पुग्न थाले ।’
प्रारम्भिक जानकारी अनुसार ४५ भन्दा बढी व्यक्तिलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई नजिकको क्लिनिक र अस्पतालहरूमा उपचार भइरहेको छ । केहीलाई उपचारपश्चात घर फर्काइएका छन् भने केहीको उपचार जारी छ ।
खाद्य सामग्रीको स्वच्छता र खानपानको मापदण्डको पालना नभएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


