सिम्रौनगढमा सयौं नेता कार्यकर्ता जनमतमा प्रवेश

बारा, २६ वैशाख । बाराको सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले र आम जनता पार्टीसहितका सयौं नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सिम्रौनगढ नगर कार्यसमितिद्वारा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले नवप्रवेशीहरूलाई गम्छा, फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
प्रवेशकर्ताहरूमा नेपाली कांग्रेसका युवा नेता अजित महतो, मनोज साह सोनार, जसपाका रामकुमार साह, आम जनता पार्टीका डा. प्रदीप जसवाल साथै एमाले र अन्य दलबाट आएका सयौं स्थानीय नेताकार्यकर्ता छन् ।
सभा सम्बोधनका क्रममा अध्यक्ष डा. राउतले सिम्रौनगढको गौरवशाली इतिहास स्मरण गर्दै भने, ‘सिम्रौनगढले इतिहासमा काठमाडौंमाथि पटक–पटक आक्रमण गरेर नियन्त्रण लिएको थियो,’ उनले भने, ‘हामी शक्तिशाली राज्यका नागरिक थियौं । त्यो गौरव फर्काउनु आजको आवश्यकता हो ।’

राउतले सिम्रौनगढलाई आफ्नो राजनीतिक यात्राको प्रेरणाको स्रोत बताउँदै जनताको साथ पाए इतिहास फेरि दोहोरिन सक्ने दाबी गरे । ‘म जब सिम्रौनगढ आउँछु, भावुक हुन्छु । यहाँको भूमिले मलाई ऊर्जा दिन्छ,’ उनले थपे ।
कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँलगायत जनमत पार्टीका वरिष्ठ नेता डा. जयकान्त राउत, उपाध्यक्ष इञ्जिनियर बसन्त कुशवाहा, जिल्ला इन्चार्ज शिवनाथ पटेल, युवा नेता विकास सिंह, उमेश दुबे र अन्य थुप्रै नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


