धनुषामा एमाले र जसपाका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

जनकपुरधाम, २६ वैशाख । धनुषाको कमला नगरपालिका वडा नम्बर ८ स्थित हरिनेको दक्षिणबारी टोल सोनापाडामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमालेका स्थानीय नेता जगदेव यादवको नेतृत्वमा भएको प्रवेश कार्यक्रममा काशिन्द्र यादव, राम सागर यादव, विन्देश्वर यादव, राकेश यादव, महेश साह, मटुक यादव, सञ्जित यादव, रामअवतार साह, घुरन यादव, बिशेश्वर यादव, मोहन यादव लगायतका नेताहरू माओवादी केन्द्रमा सामेल भएका छन् ।
त्यस्तै, टेरहा क्षेत्रबाट जागेश्वर पासमान (कनखि) ले पनि एमाले परित्याग गर्दै माओवादी केन्द्र रोजेका छन् । उनीहरू सबैले पार्टी परिवर्तनको मुख्य कारणको रूपमा एमाले नेतृत्वको जनविमुख कार्यशैली र संगठनभित्रको गुटबन्दीलाई देखाएका छन् ।
यसैगरी जसपाबाट रोशन साह लगायतका नेताहरू पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूले मधेशमा सामाजिक न्याय, समानता र समावेशीताको पक्षमा काम गर्न माओवादीको दृष्टिकोण अनुकूल भएको बताए ।
कार्यक्रममा बोल्दै जगदेव यादवले भने, ‘अबको राजनीति जनताका सवालमा आधारित हुनुपर्छ । माओवादीले फेरि जनताको एजेण्डा उठाएको देखेर हामी यहाँ आएका हौं ।’ त्यस्तै, नवप्रवेशी नेताहरूले माओवादी केन्द्रमा एकताको भावना अनुभव गरेको बताउँदै संगठन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
प्रवेश कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि तथा प्रदेश नेताहरूको उपस्थितिमा सम्पन्न भएको थियो । पार्टीले नवप्रवेशीहरूलाई स्वागत गर्दै स्थानीय तहदेखि केन्द्रसम्म पार्टीलाई सुदृढ गर्न उनीहरूको योगदान महत्वपूर्ण हुने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


