सिरहाको एक विद्यालयमा विद्यार्थीमाथि शिक्षकको निर्घात कुटपिट

सिरहा, २६ वैशाख । सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वास्थित एपेक्स विद्या मन्दिर नामक निजी विद्यालयमा एक शिक्षकले कक्षा ८ मा अध्ययनरत १३ वर्षीय विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । घटनाले विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र स्थानीयबीच चर्को आक्रोश फैलिएको छ ।
नरहा गाउँपालिका–३ खोरिया निवासी सुरेश यादवका छोरा अभिनाश यादवमाथि शुक्रबार विद्यालयका शिक्षक सन्तोष गुप्ताले कुटपिट गरेका हुन् । अभिभावक सुरेश यादवका अनुसार छोरा अभिनाशले पढाइको गुणस्तरमा सुधार नआएको गुनासो गरेपछि शिक्षक गुप्ता रिसाउँदै हातपातमा उत्रिएका थिए । कुटपिटका कारण उनको अनुहार, पिठ्युँ, तिघ्रा लगायत शरीरका विभिन्न भागमा गहिरा निलडाम देखिएको छ ।
गम्भीर चोटपटक लागेपछि अभिभावकले अभिनाशलाई तत्काल गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । अहिले उनको उपचार जारी छ । घटनापछि पीडित पक्षले इलाका प्रहरी कार्यालय, गोलबजारमा उजुरी दिएपछि प्रहरीले शिक्षक गुप्तालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक गोविन्द साहका अनुसार उक्त शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । अभिभावक र बालकको बयान र स्वास्थ्य रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढाइनेछ ।
घटनाबारे बुझ्न विद्यालयका सञ्चालक विजय महतोलाई पटकपटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन नचाहेको बताइएको छ । विद्यालय प्रशासनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिएपछि अभिभावकहरू अझै आक्रोशित बनेका छन् ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार बालबालिकामाथि शारीरिक सजाय दिनु गैरकानुनी मानिन्छ र दोषी प्रमाणित भएमा कारावास र जरिवानाको सजाय हुन सक्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


