जनकपुरधाम, २६ वैशाख । भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दै गएको सैन्य तनावको प्रभाव नेपाल–भारत सीमा क्षेत्रमा पनि देखिन थालेको छ ।

नेपालको धनुषा, रुपन्देही लगायतका सीमावर्ती जिल्लाहरूमा सुरक्षा निकायहरूले आवतजावतमा कडाइ गर्दै सशस्त्र सतर्कता बढाएका छन् ।

विशेषगरी धनुषाको जटही र भिट्ठामोड नाकामा सुरक्षाकर्मीहरूले प्रत्येक व्यक्तिको परिचय खुलाएर मात्र पार गराउने व्यवस्था मिलाएका छन् । छिन्नमस्ता सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कृष्ण ढकालका अनुसार सीमा क्षेत्रलाई संवेदनशील मानिँदै सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । ‘नयाँ अनुहार र शंकास्पद गतिविधि भएका व्यक्तिहरूमाथि निगरानी गरिंदैछ,’ उनले बताए ।

धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले सीमा क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेकाले आम सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरे । ‘भारत–पाकिस्तान तनाव प्रत्यक्षरूपमा नेपालमा असर नपरे पनि सीमावर्ती क्षेत्रमा त्यसको परोक्ष प्रभाव देखिएको छ,’ रेग्मीले भने ।

सुरक्षाको कडाइसँगै सीमावर्ती बजारहरूमा पनि चहलपहल कम देखिन थालेको छ । स्थानीय व्यवसायीहरूले सामानको ओसारपसारमा ढिलाइ भएको, ग्राहकको आवागमनमा कमी आएको तथा दिनदिनै जाँचले काममा असर पारिरहेको बताएका छन् । सीमाको नियमित आवतजावतमा परेका सर्वसाधारणले पनि चाँडो स्थायीत्व चाहेका छन् ।

यस्तै तनावको असर रुपन्देहीको बेलहिया, लुम्बिनी, भगवानपुर लगायतका नाकामा पनि देखिएको छ । सशस्त्र प्रहरी बलले बेलहिया नाकामा तालिम प्राप्त कुकुरमार्फत ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेशको अनुमति दिइरहेको छ । ‘डेजी’ नामक जर्मन सेफर्ड कुकुरले हातहतियार र विष्फोटक पदार्थको सुँघेर पहिचान गर्न सक्छ भने ‘साया’ नामक ल्याब्राडोरले लागुऔषध जाँच्नमा दक्ष रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सीमाबाट हुनसक्ने अवैध घुसपैठ तथा आपराधिक गतिविधिलाई रोक्न सशस्त्र प्रहरी बल, नेपालले भारतको सशस्त्र सीमा बलसँगको समन्वयमा संयुक्त गस्ती र सूचना आदानप्रदानलाई तीव्र बनाएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, ‘एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टे गस्ती गरिएको छ । सबै बाहिनीपतिहरूलाई विशेष सुरक्षा निर्देशन दिइएको छ ।’

उनले थपे, ‘सीमा क्षेत्रमा आउजाउ गर्ने प्रत्येक व्यक्तिको परिचय जाँच गरी अभिलेख राख्ने, निगरानी गर्ने र सुक्ष्म रुपमा सूचनाहरू सङ्कलन गरिरहेका छौँ ।’

सुरक्षा निकायहरूले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समेत समन्वय गर्दै सिमानामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न क्रियाशील छन् । सीमामा हुने आवतजावतलाई व्यवस्थित बनाउन सूचना प्रणाली सुदृढ गर्दै हरकदममा निगरानी गरिएको बताइएको छ ।