जनकपुरधाम, २४ वैैशाख । भारतद्वारा हालै पाकिस्तान शासित कश्मीरमा सञ्चालित ‘अपरेशन सिन्दूर’ मा नेपाल भारत खुला सिमा संवाद समूहले समर्थन जनाएको छ ।

आतंकवादविरुद्ध गरिएका यस्ता निर्णायक कारबाही मानवता, शान्ति र सुरक्षाको पक्षमा रहेको भन्दै समूहले भारतको कदमको प्रशंसा गरेको हो ।

भारतको सुरक्षा बलले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर क्षेत्रमा रहेका ९ वटा आतंकवादी सेल्टरहरूमा लक्षित हवाई आक्रमण गर्दै ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो । यस कारबाहीको उद्देश्य ती आतंकवादी अड्डाहरूलाई ध्वस्त पार्नु मात्र नभई सम्पूर्ण क्षेत्रमा आतंकको प्रभावलाई समाप्त गर्नु रहेको भारतीय पक्षको भनाइ छ ।

नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष डा. राजीव झाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आतंककारी समूहहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य देशमा आतंक मच्चाउने योजनामा संलग्न थिए । यस्तो अवस्थाले भारतलाई यस्ता संरचनाविरुद्ध कठोर कारबाही गर्न बाध्य बनाएको हो ।’

आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा नभएको र यसले सम्पूर्ण मानव जातिलाई नै जोखिममा पारिरहेको सन्दर्भमा भारतको कदम शान्ति र स्थायित्वको पक्षमा भएको उनले बताए । ‘अपरेशन सिन्दूरले केवल सुरक्षाको प्रत्युत्तर मात्र नभई यसले दक्षिण एशियाली मुलुकहरूलाई आतंकविरुद्ध साझा मोर्चा बनाउन प्रेरणा दिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डा. झाले नेपाल सरकारसँग पनि भारतको उक्त कारबाहीप्रति समर्थन गर्न आग्रह गरेका छन् । उनका अनुसार आतंकवादको साझा खतराबिरुद्ध क्षेत्रीय एकता अपरिहार्य छ । ‘शान्तिप्रेमी राष्ट्र नेपालले यस्ता निर्णायक कारबाहीको मौन समर्थन होइन, कूटनीतिक समर्थन जनाउनुपर्छ,’ उनले जोड दिए ।

अपरेशन सिन्दूर सन्देशमूलक मात्रै नभई व्यवहारिक रूपमा आतंककारी सञ्जालको क्षमतामा ठूलो धक्का दिने घटना भएको छ । साथै, यसले दक्षिण एशियाली मुलुकहरूबीच सुरक्षा, खुफिया साझेदारी र राजनीतिक समन्वय आवश्यक भएको पनि उजागर गरेको छ ।