काठमाडौं, २४ वैशाख । भारतको जम्मु–कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको आतंकी आक्रमणमा एक नेपाली नागरिकसहित २९ जना पर्यटकको निर्मम हत्या भएको घटनाले नेपालमा समेत शोक र आक्रोश फैलिएको छ ।

उक्त घटनाको जवाफस्वरूप भारतीय सेनाले गएराति ‘अपरेशन सिन्दुर’ नामक विशेष हवाई कारबाही गर्दै पाकिस्तान शासित कश्मीरमा रहेका नौवटा आतंकी सेल्टर ध्वस्त पारेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यस घटनामा प्रतिक्रिया दिँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रेस विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्धको कठोर कारबाहीप्रति समर्थन जनाएको छ । लोसपाका महासचिव डा. सुरेन्द्र कुमार झाका अनुसार विश्वका जुनसुकै कुनामा हुने आतंकवादी गतिविधि सभ्य समाजविरुद्धको अपराध हो । त्यसको प्रतिकारमा गरिने यस्ता कदमहरू अपरिहार्य छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मृतक सुदीप न्यौपानेप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दुःखद घडीमा शोकमा डुबेका परिवारजनप्रति समवेदना प्रकट गर्दछौं । भारतीय सुरक्षाकर्मीहरूद्वारा गरिएको अपरेशन सिन्दुरले कम्तीमा पनि पीडित परिवारको पीडामा मलहम लगाउने प्रयास गरेको छ ।’

लोसपाले आतंकवादको भत्र्सना गर्दै निर्दोष नागरिकहरूलाई लक्षित गर्दै गरिने यस्ता हमलाको सबै प्रकारले विरोध गर्ने जनाएको छ । ‘विश्वस्तरमा आतंकवादविरुद्ध एकजुटता आवश्यक छ । यस्ता क्रूर गतिविधि सहन सकिने अवस्था छैन,’ महासचिव झाले भने ।

नेपाल र भारतजस्ता शान्तिप्रेमी राष्ट्रका नागरिकहरूलाई आतंकवादको सिकार बनाइनु अत्यन्त दुर्भाग्यपूर्ण भएको भन्दै लोसपाले अन्तर्राष्ट्रिय स्तरमा आतंकविरुद्ध साझा रणनीति आवश्यक रहेको उल्लेख गरेको छ ।