–अखिल मढि
जनकपुरधाम, २४ वैशाख ।
जानकी मन्दिर मिथिलावासीहरूको मात्र नभई सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । यही मन्दिरबाट राम–जानकीको पवित्र सम्बन्धको स्मरण हुन्छ । यहींबाट जनकपुरधामको पहिचान सुरु हुन्छ । तर, दुःखको कुरा, यही पवित्र स्थल पछिल्ला दिनहरूमा फोहर, लापरवाही र चेतनाको अभावले कुरूप बन्न थालेको छ ।

बुधबार जानकी नवमीको अवसरमा मन्दिर परिसर उज्यालोमा झलमल्ल थियो । हजारौं श्रद्धालुहरू दियाबत्ती बाल्दै पूजा आराधनामा सहभागी भए । तर, आज बिहानको दृश्य मन दुःखाउने खालको रह्यो । मन्दिर परिसरमा प्लास्टिकका बोतल, पूजा सामग्रीका खोल, बाँसका डाँठ र कार्यक्रमजन्य फोहोर थुप्रिएको देखियो । यो केवल वातावरणीय बेवास्ता मात्र नभई हाम्रो आस्था र सांस्कृतिक सम्पदामाथिको गम्भीर अपमान हो ।

कार्यक्रम गर्ने, मेला मनाउने वा धार्मिक उत्सव आयोजना गर्नु निश्चय नै स्वागतयोग्य हो । तर, त्यसपछि फोहोरमैला सफा नगर्ने प्रवृत्ति अत्यन्त चिन्ताजनक छ । जानकी मन्दिरजस्तो पवित्र स्थलमा यस्तो लापरवाही देखिनु केवल धार्मिक चेतनाको कमी मात्र नभई सांस्कृतिक संवेदनहीनता पनि हो ।

अहिले त सामाजिक सञ्जालमा ‘फोहरको फोटो’ भाइरल बनाउने होड चलिरहेको छ । तर, त्यो फोटो खिच्नेहरूले फोहोर हटाउने अभियानमा सहभागी भएको कत्तिको देखिन्छ? प्रश्न यहाँ छ — के हामी साँचो अर्थमा भक्त छौं, कि केवल देखावटी श्रद्धालु?

जनकपुरधामका धार्मिक, सामाजिक र सांस्कृतिक संरक्षणमा समर्पित संस्था तथा सरोकारवालासँग एकजुट भएर जानकी मन्दिर परिसरमा कुनै पनि कार्यक्रम गरेपछि अनिवार्य रूपमा सरसफाइ गर्न, स्थानीय प्रशासन र मठ–मन्दिर समितिले कार्यक्रम अनुमतिपत्र दिने बेलामा ‘सफा राख्ने शर्त’ अनिवार्य बनाउन, फोहोर गर्ने व्यक्ति वा संस्थाविरुद्ध कारबाही गर्न कानुनी प्रक्रिया अघि बढाउन र सबै नागरिकले फोहोर देखेमा त्यसको फोटो वा भिडियो खिची प्रमाणसहित सरोकारवाला निकाय वा सञ्चारमाध्यमलाई जानकारी गराउन अपिल गर्दर्छौं ।

यो ऐतिहासिक मन्दिरको गरिमा जोगाउनु हामी सबैको कर्तव्य हो । हाम्रा सन्तानले जब जानकी मन्दिरमा पाइला राखून्, उनीहरूले फोहोर होइन, पवित्रता, अनुशासन र संरक्षणको उदाहरण देखून् । धार्मिक जागरणको केन्द्र हो जानकी मन्दिर । यसलाई व्यापारिक कार्यक्रमको थलो बनाउनु आपराधिक लापरवाही हो । त्यसैले, ‘फूल चढाऔं, फोहोर होइन ।’ श्रद्धा देखाऔं, सस्तो प्रदर्शन होइन ।’

‘सफा जनकपुर, स्वाभिमानी मिथिला’