सम्मान र अभिनन्दन अब भाषणका ‘सस्तो शब्द’ बने : गृहमन्त्री लेखी

जनकपुरधाम, २४ वैैशाख । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेशका सुरक्षाका समस्या, बजेटीय असन्तुलन र राज्यका प्राथमिकताहरूको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुरक्षा संयन्त्र, खेलकुद, स्वास्थ्य र सञ्चार क्षेत्रमा राज्यको ध्यान नगएकाले जनतामा निराशा बढिरहेको बताए ।
मन्त्री लेखीले प्रहरी संगठनको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, ‘आज नेपाल प्रहरी जनताको मोटरसाइकल चढ्न बाध्य छन्, त्यो पनि इन्डियन प्लेटको । यो हाम्रो सुरक्षातन्त्रको हालत देखाउने संकेत हो । जनताको सुरक्षा गर्ने प्रहरीको कार्यालय चुहिरहेको छ भने हामी कस्तो सुरक्षा दिने भन्ने प्रश्न उठ्छ ।’
उनले भने, ‘सुरक्षाकर्मीहरूको मनोबल बढाउने गरी पूर्वाधार, तालिम, सुविधा र सवारी साधनको व्यवस्था नभएसम्म प्रदेशको सुरक्षा प्रणाली सशक्त हुन सक्दैन ।’
मन्त्री लेखीले वर्तमान समयसम्म राज्यद्वारा गरिने सम्मान र अभिनन्दनका कार्यक्रमहरू केवल औपचारिकतामा सीमित भएको टिप्पणी गरे । ‘अभिनन्दन र सम्मान आजकल भाषणको सस्तो शब्दजस्तो लाग्न थालेको छ । जबसम्म योगदानकर्ताको जीवनस्तरमा परिवर्तन ल्याउने काम हुँदैन, सम्मान केवल देखावटी हो,’ उनले भने ।
मन्त्री लेखीले प्रदेशको बजेटीय प्राथमिकतामाथि प्रश्न उठाउँदै भने, ‘स्वास्थ्य र खेलकुद मन्त्रालयमा जम्मा ०.५ प्रतिशत बजेट छुट्याइएको छ । उनले थपे, ‘यो प्रदेशमा जम्मा १२ प्रतिशत मात्र बजेट खर्च भइरहेको छ । अब यस्तो आधारमा बजेट माग्ने? हामी जनतालाई के देखाएर योजना बनाउने?’
उनका अनुसार बजेट निर्माणमा वास्तविक आवश्यकताको पहिचान, क्षेत्रगत सन्तुलन र परिणाममुखी नीति ल्याउन प्रदेश सरकार गम्भीर बन्नुपर्छ ।
आगामी आर्थिक वर्षमा सरकारबाट ‘ज्येष्ठ पत्रकार सम्मान योजना’ अघि बढाइने जानकारी दिँदै मन्त्री लेखीले आफ्नो मन्त्रालयले पत्रकारितामा दीर्घकालीन योगदान गर्ने स्रष्टाहरूलाई औपचारिक अभिनन्दन मात्र नभई व्यवहारिक सम्मान दिने योजना बनाइरहेको जनाए ।
‘हामी पत्रकारिता क्षेत्रमा जीवन समर्पण गर्नेहरूलाई चिन्नेछौं, कदर गर्नेछौं र राज्यले उनीहरूलाई सम्मानित जीवनयापनका लागि आवश्यक सहयोग पनि गर्नेछ,’ उनले प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


