सुन्दर सदनमा स्व. महन्थ राघव शरणको प्रतिमामा निधिले गरे माल्यापर्ण

जनकपुरधाम, २४ वैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधामस्थित ऐतिहासिक सुन्दर सदनमा महन्थ स्व. राघव शरण दासको प्रतिमामा माल्यापर्ण गरेका छन् ।
नेता निधिले स्व. राघव शरण दासलाई लोकतान्त्रिक विचारधारा र सामाजिक सद्भावका संवाहकका रूपमा स्मरण गरेका हुन् ।

नेता निधिले स्व. दाससँगको सम्बन्धलाई स्मरण गर्दै भने, ‘राघव शरण महाराजजीसँग मेरो मात्र नभई मेरा पिता महेन्द्र नारायण निधिसँग पनि आत्मीय सम्बन्ध थियो । राजनीतिक, वैचारिक र सामाजिक रूपमै हाम्रो गहिरो समझदारी थियो । उहाँ उच्च विचार र विद्वत्ता भएका व्यक्ति हुनुहुन्थ्यो । लोकतन्त्र र समाज सुधारमा उहाँको योगदान सदैव स्मरणीय रहन्छ ।’

सो अवसरमा निधि नेतृत्वको टोलीले वर्तमान महन्थ नवल किशोर शरणसँग भेटघाट तथा सम्वाद गरेका थिए । भेटमा धार्मिक र सामाजिक विकासबारे छलफल गरिएको जनाइएको छ । महन्थ नवल किशोर शरणले नेता निधिसहित साथमा रहेका कांग्रेस कार्यकर्ताहरूलाई परम्परागत सम्मानस्वरूप दोसल्ला र गम्छा ओढाएर स्वागत गरेका थिए ।

सुन्दर सदन जनकपुरधामको धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल मानिन्छ । नेता निधिले सुन्दर सदनजस्ता ऐतिहासिक र पवित्र स्थलहरूको संरक्षण र प्रवद्र्धनमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।
जनकपुरधाम–८ स्थित सुन्दर सदन मन्दिरका स्वर्गीय महन्त राघव शरण दासको प्रतिमा बुधबार जानकी नवमीको दिन प्रतिष्ठित गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


