जनकपुरधाम, २४ वैैशाख । मिथिलाको ऐतिहासिक र धार्मिक नगर धनुषाधाममा बहुप्रतिक्षित रामायण बाटिका निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ ।

रामायणकालीन जीवन्त अवशेषहरू रहेको यस पवित्रस्थलमा निर्माण हुने यो बाटिका केवल बोटबिरुवाको उद्यान नभई धर्म, संस्कृति, पर्यावरण र समृद्धिको समिश्रण बन्नेछ भन्ने विश्वासका साथ स्थानीय बासिन्दा र नेतृत्व उत्साहित देखिएका छन् ।

परियोजनाको शुभारम्भ मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, भारतबाट आएका विशिष्ट पाहुना तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको विशेष उपस्थितिमा सम्पन्न भयो ।

रामायण बाटिकालाई धार्मिक र सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र बनाउने योजना अन्तर्गत यसको विकास भइरहेको छ । साथै, वन वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणतर्फ ध्यान केन्द्रित गरिने वन निर्देशनालयका अधिकृत सुरेश शर्माले जानकारी दिए । ‘धनुषाधामको पौराणिक महत्त्वलाई आधार बनाएर यो परियोजना केवल धार्मिक पर्यटनमै सीमित रहने छैन,’ उनले भने, ‘यसले प्रकृति, संस्कार र मिथिलाको मौलिक जीवनशैलीलाई पनि उजागर गर्नेछ ।’

शर्माका अनुसार बाटिकाले जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलनको स्थायित्व र स्थानीय स्रोतसाधनको उपयोगद्वारा रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको छ ।

मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार रामायण बाटिकाले मिथिलाको प्राकृतिक सम्पदा, जैविक विविधता र धार्मिक चेतनाबीचको सम्बन्धलाई बलियो बनाउनेछ । ‘धेरैपटक विकास र संरक्षणबीच द्वन्द्व देखिन्छ,’ मण्डलले भने, ‘तर यो परियोजनाले दुवैलाई सँगै अघि बढाउन सक्ने व्यावहारिक मोडल प्रस्तुत गर्नेछ ।’

परियोजनाको शुभारम्भसँगै स्थानीय समुदायमा विशेष उत्साह छ । युवा पुस्ताले रोजगारीका अवसर, पर्यटन व्यवसाय र स्थानीय उत्पादनको प्रवद्र्धनमार्फत जीवनस्तर उकासिने अपेक्षा राखेका छन् । धनुषाधामका युवा सञ्जय यादव भन्छन्, ‘धेरै समयपछि हाम्रो क्षेत्रको धार्मिक र पर्यावरणीय महत्वलाई सम्मान गर्दै ठुलो काम सुरु भएको छ । यो हाम्रो लागि अवसर हो ।’

रामायणमा उल्लेखित धनुषधारण स्थल धनुषाधाममा निर्माण हुने यो बाटिकाले नेपालको धार्मिक पर्यटनमा नयाँ इतिहास रच्ने विश्वास लिइएको छ । समग्र परियोजनाको प्रारम्भिक कार्य केही महिनाभित्र नै दृश्यरूपमा देखिन थाल्नेछ ।