भारत–पाकिस्तान तनावले नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, आवतजावतमा कडाइ

जनकपुरधाम, २४ वैशाख । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावले नेपाल–भारत सीमामा समेत प्रभाव देखिन थालेको छ ।
भारतले पाकिस्तानको सीमावर्ती क्षेत्रमा लक्षित मिसाइल आक्रमण गरेपछि सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् ।
विशेष गरी भिठामोड र जटही नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । त्यस नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।
सीमा क्षेत्रमा सामान्यतया बिना कुनै रोकटोक नागरिकहरू आवतजावत गर्ने व्यवस्था थियो । दैनिक रूपमा सयौं नेपाली र भारतीय नागरिकहरू सामान खरिद, स्वास्थ्य उपचार, रोजगार वा आफन्त भेट्न सीमा पार गर्थे । तर, पछिल्लो सैन्य घटनापछि दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेका छन् ।
भिठामोड सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘हामीले सुरक्षा सतर्कता बढाएका छौं । भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी कुनै पनि जोखिम मोल लिन सक्दैनौं ।’ उनले थपे, ‘विशेष गरी नयाँ अनुहार र शंकास्पद गतिविधि भएका व्यक्तिमाथि हामी विशेष निगरानी गरिरहेका छौं ।’
जटही नाका हुँदै दैनिक रूपमा भारतको मधुवनीतर्फ आवतजावत गर्ने सर्वसाधारण अहिले सुरक्षा प्रक्रिया कडाइ भएपछि केही असहज महशुस गरिरहेका छन् । सीमामा झण्डै ३० मिनेटसम्म सोधपुछ भएपछि मात्रै उनीहरूलाई आउजाउ गर्न दिइन्छ ।
स्थानीय व्यवसायी रवि यादव भन्छन्, ‘हामी सधैंजसो भारतमा किनमेल गर्न जान्थ्यौं । तर, अहिले सुरक्षा जाँचले समय लाग्ने भएको छ । नाका पार गर्न धेरै ढिला हुन्छ ।’
सुरक्षा अधिकारीहरूले भने यो अस्थायी अवस्था भएको र स्थिति सामान्य भएपछिमात्र पूर्ववत सहजता कायम हुने बताएका छन् । तर, स्थानीय जनताले यसले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा राखेका छन् ।
सिमानाका वरपरका बजारहरूमा पनि केही असर देखिएको छ । भारतीय बजारबाट सामान ओसारपसार गर्ने व्यापारीहरूले सुरक्षा प्रक्रिया लामो भएकाले ढुवानीमा ढिलाइ भएको गुनासो गरेका छन् ।
नेपाल–भारतबीच खुला सीमाको व्यवस्था भए तापनि दुई देशबीचको सुरक्षा अवस्था, विशेष गरी भारतको पश्चिमी सीमामा देखिएको सैन्य तनावले पूर्वी सीमामा समेत असर पारेको देखिएको छ । सीमावर्ती सुरक्षाकर्मीहरू र प्रशासनले स्थानीयबासीलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


