जानकी जन्म महोत्सवमा दूधमती नदीमा शाही स्नान

जनकपुरधाम, २३ वैशाख । मिथिला क्षेत्रका प्रमुख धार्मिक पर्वमध्ये एक जानकी जन्म महोत्सव यस वर्ष पनि श्रद्धा र उल्लासका साथ मनाइँदै छ । यस अवसरमा दूधमती नदीमा हजारौं भक्तजन र साधु–सन्तहरूले शाही स्नान गरेका छन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको नेतृत्वमा साधु–सन्तहरूको टोलीले बिहानै दूधमती नदीमा शाही स्नान गरेका थिए । दुधमती सरोकार समितिका अध्यक्ष सुदीप मण्डलले स्नानार्थीहरूको स्वागत गर्दै धार्मिक एकता र परम्पराको महत्वलाई जोड दिएका थिए ।
दुधमती नदीलाई मिथिला क्षेत्रको पवित्र नदी मानिन्छ र यसको धार्मिक महत्त्व अत्यधिक छ । किंवदन्ती अनुसार त्रेतायुगमा कामधेनु गाईले माता सीतालाई दूध खुवाउनका लागि पृथ्वीमा दूधको धारा बगाएपछि यस नदीको उत्पत्ति भएको विश्वास गरिन्छ । यस नदीमा स्नान गर्ने परम्परा मिथिलावासीकै विशेषता हो ।
यस वर्षको जानकी जन्म महोत्सवमा विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको छ । जानकी मन्दिरमा विशेष पूजा, दीपावली, आरती, डोला शोभायात्रा र बधैयागानजस्ता कार्यक्रमहरू आयोजना गरिएका छन् । यसका साथै, विश्व हिन्दू परिषद् नेपाल धनुषाले अलौकिक कन्या पूजन एवं सम्मान समारोहको आयोजना गर्यो ।
यस पर्वले मिथिला क्षेत्रको सांस्कृतिक धरोहर र धार्मिक एकतालाई प्रगाढ बनाउने कार्य गरेको छ । धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट मिथिलावासीहरूले आफ्नो परम्परा र संस्कृतिलाई जिवित राखेका छन् ।
जानकी जन्म महोत्सवको अवसरमा जनकपुरधाममा विशेष चहलपहल र रौनक देखिएको छ । धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट मिथिलावासीहरूले आफ्नो परम्परा र संस्कृतिलाई सम्मान गर्दै आगामी पुस्तासम्म पुर्याउने कार्यमा योगदान पुर्याएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


