जनकपुरधाम, २३ वैशाख । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवारबीच चर्किएको विवादले झडपको रूप लिएको छ । विवादका क्रममा कुर्सी हानाहान र हात हालाहाल हुँदा पाँच जना नेता कार्यकर्ता घाइते भएका छन् । झडपका कारण निर्वाचन प्रक्रिया पूर्ण रूपमा रोकिएको छ ।

एमाले केन्द्रीय सचिव रघुवीर महासेठ समर्थित अध्यक्ष पदका उम्मेदवार भोला यादव र केन्द्रीय सदस्य उमाशंकर अरगरिया निकट लक्ष्मीनारायण यादव पक्षबीचको तीव्र प्रतिस्पर्धाले अधिवेशन तनावग्रस्त बनेको हो । दुवै समूहका कार्यकर्ताहरूबीच सोमबार रातिदेखि नै वादविवाद सुरु भएको थियो भने मंगलबार बिहान मतदान सुरु हुनु केही समय अघिदेखि नै स्थिति नियन्त्रण बाहिर जान थाल्यो ।

झडपमा घाइते हुनेहरूमा सत्यनारायण महासेठ र महेश दास छन् । दैबैजनको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेमध्ये एमालेका निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवसमेत रहेका छन् । उनीमाथि कुटपिट भएको पुष्टि प्रत्यक्षदर्शीहरूले गरेका छन् ।

निर्वाचन समितिले सोमबार राति उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेपछि भोला यादव पक्षले सूचीमा मनपरी ढंगले नाम हटाइएको भन्दै आपत्ति जनाएका थिए । यथाशीघ्र मतदान प्रक्रिया सुरु गर्नुपर्ने माग राख्दै उनीहरूले आक्रोश प्रकट गरे । अर्कोतर्फ, लक्ष्मीनारायण यादव समूहले सूचीमा गम्भीर त्रुटी रहेको दाबी गर्दै मतदान बहिस्कारको चेतावनी दिएका थिए ।

स्थिति झनै बिग्रँदै जाँदा कुर्सी प्रहार, हात हालाहाल र धक्का मुक्कासमेत भएको थियो । सुरक्षा व्यवस्था अत्यन्तै कमजोर देखिएको भन्दै दुवै पक्षका समर्थकहरूले निर्वाचन समितिको भूमिका प्रश्न गरेका छन् ।

उपाध्यक्ष पदमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव प्रतिस्पर्धामा छन् भने सचिवका लागि दिपन ठाकुर र धीरेन्द्र कुमार मण्डल उम्मेदवार छन् । उपसचिव पदमा विक्रम थापा, सुरेश ठाकुर र हरिकिशोर यादवबीच प्रतिस्पर्धा छ । महिलातर्फ उपसचिवमा किरण कापर, रुपा कुमारी मिश्र र सारदा घिसिङ चुनावी मैदानमा छन् ।

यस अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनुपर्नेछ । तर, मतदाता सूचीमा विवाद र झडपका कारण निर्वाचन प्रक्रिया नै ठप्प भएको छ ।

दुवै समूहले आ–आफ्नो पक्षबाट अनुचित कदम उठाइएको आरोप लगाउँदै एकअर्कालाई दोषी देखाइरहेका छन् ।