कमला नदीमा पानीको बहाव तीव्र, धनुषा–सिरहा आवतजावत पूर्णरूपमा अवरुद्ध

जनकपुरधाम, २३ वैशाख । मधेश प्रदेशको दुई प्रमुख जिल्ला धनुषा र सिरहा जोड्ने वैकल्पिक मार्ग कमला नदीमा पानीको बहाव तीव्र भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । एकातिर भारी वर्षा र अर्कोतर्फ अस्थायी व्यवस्थाका कारण अहिले स्थानीय बासिन्दा, यात्रु र सवारी साधनहरू दुविधामा परेका छन् ।
कमला नदीमा रहेको पुरानो पुल विगतदेखि नै क्षतिग्रस्त अवस्थामा रहेको हुँदा अहिले आवतजावतका लागि पुलको मुनी अस्थायी बाटो बनाइएको थियो । तर, पछिल्लो दिनमा पहाडी क्षेत्रहरूमा परेको वर्षाका कारण कमलामा आएको बाढीले उक्त बाटो पनि बगाएपछि यात्रा अवरुद्ध भएको हो ।
स्थानीयवासी हरिनारायण ठाकुर भन्छन्, ‘सकस त सधैं रहन्छ, तर अहिले त मानिस पैदल हिँड्न पनि डराउँछन् । नदी उर्लेर आएको छ, कुनै सावधानी छैन, सूचना पनि छैन ।’
बाढीको पानी सडकपारिसम्म आइपुगेपछि साना सवारी साधन, मोटरसाइकल र साइकल समेत हिँड्न असम्भव भएको स्थानीय प्रशासनले जनाएको छ । कमला नदीमाथिको पक्की पुल विगत केही वर्षदेखि कमजोर भइसकेको छ । वैकल्पिक रूपमा बनाइएको अस्थायी बाटो बर्सेनि बाढीको समय बग्ने गर्छ ।
धनुषाको मिथिला नगरपालिका र सिरहाको कर्जन्हा क्षेत्रका सयौं मानिस दैनिक यो मार्ग प्रयोग गर्छन् । खेतिपाती, व्यापारिक सामग्री ओसारपसार, विद्यार्थीको आवागमनलगायतका दैनिक कार्य ठप्प भएका छन् ।
स्थानीय व्यापारी राजेन्द्र यादव भन्छन्, ‘बजार जान सकिन्न, सामान ल्याउन गाडी आउँदैन, सिंगो जनजीवन अस्तव्यस्त छ ।’
स्थानीयले लामो समयदेखि कमला नदीमाथि नयाँ, सुरक्षित र दिगो पुल निर्माणको माग गर्दै आएका छन् । तर, हालसम्म कुनै ठोस पहल नदेखिएको गुनासो छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


