जनकपुरधाम, २३ वैशाख । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–३ का एक जना जनजाति परिवार आफ्नै गाँउ छोड्न बाध्य भएका छन् । झगडाको नाममा गरिएको निरन्तरको मानसिक, सामाजिक र शारीरिक हिंसामा प्रदेश सभामुखको नाम जोडिँदै आएको छ ।

पीडित मिलन देवी मण्डल, उनका श्रीमान् रोशन मण्डल र दुई सन्तान हाल १० दिनदेखि गाँउभन्दा बाहिर बस्न बाध्य छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘हामीलाई रातदिन डर छ । कहिले के हुन्छ भन्ने थाहा छैन । प्रहरी प्रशासनलाई बारम्बार उजुरी गर्दा पनि कुनै कारवाही नहुँदा अब पत्रकारकै साहारा लिएको छु ।’

पीडित मिलन देवीका अनुसार उनीमाथि दुर्व्यवहार गर्ने मुख्य व्यक्ति हुन् रमेश मण्डल । उनी मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका ज्वाँइ हुन् । रमेश, उनका बाबु सियाशरण मण्डल र उनका नातेदार मिलेर पटक–पटक उनीहरूमाथि दुर्व्यवहार, कुटपिट र अपमानजनक व्यवहार गर्दै आएको आरोप लगाइएको छ ।

‘हाम्रो दैलोमा फोहर, मल, पिसाब, बियरको बोतल र स्यानिटरी प्याड फालिन्छ,’ मिलन देवी भन्छिन्, ‘भिडियो प्रमाण हामीसँग छ । तर, प्रहरी अझै किन मौन छ?’

घटनाका विषयमा बारम्बार प्रहरीसमक्ष उजुरी दिइएको भए पनि कुनै कारबाही नहुँदा पीडित पक्ष निराश छन् । ‘२०७८ सालदेखि उजुरी गरिरहेको छु । तर, सधैं प्रहरी रमेशको पक्षमा उभिन्छ,’ मिलन देवीले पत्रकारलाई सुनाइन् ।

उनले भनिन्, ‘हामीले प्रहरी कार्यालय, महिला सेल सबैलाई भन्यौं, एक दिन त प्रहरी चौकीमै उल्टै मेरो श्रीमान्लाई कुटियो ।’

२०७९ भदौ ५ गते रमेश मण्डलले कोदालो लिएर धम्की दिएको, अपशब्द बोलेको र कुटपिट गरेको भनिएको उजुरीमाथि पनि कारबाही नभएको गुनासो छ ।

मिलन देवी भन्छिन्, ‘२५ लाख खर्च गरेर पक्की घर बनायौं । तर, आज त्यो घरमा बस्न डर लाग्छ । उनीहरू चाहन्छन् हामी गाउँ छाडौँ ।’

उनले सभामुख रामचन्द्र मण्डललाई समेत भेटेर गुनासो राखेकी थिइन् । ‘सभामुखले उल्टै भने, ‘जनकपुरमा कोठा लिएर बस, या कतै घर बनाएर जानू, झमेलाबाट बच,’ मिलनको भनाइ छ ।

न्यायका सबै ढोका बन्द भएको भन्लै मिलनले भनिन्, ‘हामीलाई कुनै राजनीतिक पहुँच छैन, केवल नारी र दलित भएर नै हामीमाथि यस्तो व्यवहार भइरहेको हो । मिडियामार्फत सरकार र प्रहरीको ध्यान जान सकोस् ।’