जनकपुरधाम, २३ वैशाख । नेकपा (एमाले) को धनुषा जिल्ला अधिवेशन तनावपूर्ण वातावरणमा प्रवेश गरेको छ । अधिवेशन स्थलमै दुई प्रतिस्पर्धी समूहबीच झडप, तोडफोड र कुटाकुट भएपछि मतदान प्रक्रिया अनिश्चित बनेको हो । विवादले गर्दा मतदान स्थगित गरिएको छ भने अधिवेशन स्थलको स्थिति अझै अस्थिर छ ।

धनुषाको अधिवेशनस्थलमा केही उम्मेदवारीमाथि दाबी विरोध परेपछि दुई समूहबीच वादविवाद चर्किँदै कुटाकुटमा परिणत भएको थियो । हलमा रहेका कुर्सीहरू तोडफोड गरिनुका साथै केही कार्यकर्ताहरू सामान्य घाइते समेत भएका छन् । अवस्था नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरू तैनाथ गरिए पनि मतदान प्रक्रिया रोकिएको हो ।

अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले विधानविपरीत उम्मेदवारी परेपछि त्यसविरुद्ध उजुरी दर्ता गरिएको तर निर्वाचन समितिले कुनै कारबाही नगरेको आरोप लगाए । उनका अनुसार उपसचिव पदकी उम्मेदवार रुपा कुमारी मिश्र र लेखा समिति अध्यक्ष पदका उम्मेदवार वीरेन्द्रलाल कर्णको मनोनयन एमाले विधान अनुसार अयोग्य ठहरिए पनि खारेज नगरिनु विवादको मूल कारण हो । निर्वाचन समितिको लापरबाही र एकपक्षीय रवैयाले निष्पक्ष निर्वाचनमा बाधा पुगेको यादवको भनाइ छ ।

अधिवेशनमा रघुवीर महासेठ (एमाले सचिव) नेतृत्वको समूह र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’ समावेश समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । महासेठ समूहले भोला यादवलाई अध्यक्ष पदका लागि अघि सारेको छ भने लक्ष्मीनारायण यादव प्रतिस्पर्धी प्यानलबाट अध्यक्षका उम्मेदवार छन् । मण्डल–अरगरिया पक्षले चुनावी प्रक्रिया प्रभावित पारिएको र धाँधली गर्न खोजिएको आरोप महासेठ पक्षमाथि लगाएका छन् ।

महासेठ पक्षका कार्यकर्ताले वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवलाई लखेटेको दृश्य देखिएको थियो । यसपछि अधिवेशनस्थलमा झनै उग्र नाराबाजी र धक्का–मुक्का भएको थियो । महासेठ पक्षधरहरूले मतपत्र च्यात्नेलाई कारबाही गर्न माग गरेका छन् भने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण वातावरणमा गराउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

धनुषा जिल्ला अधिवेशनबाट पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुने कार्यक्रम तय गरिएको थियो । मनोनयन प्रक्रिया सोमबार सम्पन्न भए पनि मतदानको प्रक्रिया मंगलबार बिहानदेखि सुरु हुने तालिका थियो । तर, विवादका कारण प्रक्रिया स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले विवाद समाधानको प्रयास भइरहेको जानकारी दिएपनि एक पक्षले मतदानको वातावरण नै नबनेको दाबी गरेको छ ।