जनकपुरधाम, २० वैशाख । मिथिला नाट्यकला परिषद् जनकपुरधाममा शनिबार मैथिली साहित्य समाज जनकपुरधामको आयोजनामा १३५औं मासिक कवि गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता सुप्रसिद्ध कवि मनोज प्रेमेशले गरेका थिए भने प्रमुख अतिथिका रूपमा साहित्यकार अशोक दत्तको उपस्थिति थियो ।

साहित्य, संस्कृति र भाषाको संरक्षण र प्रवद्र्धनमा अग्रसर मैथिली साहित्य समाजले निरन्तर १३५ हप्तासम्म मासिक कवि गोष्ठीको श्रृंखला चलाएको यो कार्यक्रमले मिथिला क्षेत्रको सृजनात्मक चेतना र समर्पणलाई प्रतिविम्बित गरेको छ ।

कार्यक्रममा जनकपुरधामका चर्चित साहित्यकार तथा कविहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शीतल झा, देवीकान्त मिश्र, विनोदचन्द्र झा, फुलेन्द्र लाभ कर्ण, डा. विरेन्द्र ‘मुनिजी’, डा. गायत्री झा, वैद्यनाथ पासवान, सुधिर चन्द्र आचार्य, सुमित कुमार झा, काशी कान्त झा ‘रसिक’, विजय दम मणि, बिन्दु ठाकर, विजय कुमार यादव, किरण झा ‘रश्मी’, राकेश कुमार झा ‘रसिक’ जस्ता साहित्यकर्मीहरूले गोष्ठीलाई सृजनात्मक ऊर्जा प्रदान गरेका थिए ।

गोष्ठीमा सहभागी कविहरूले आफ्नो मौलिक र समसामयिक सिर्जनाहरू प्रस्तुत गरे । प्रस्तुत कविताहरूमा मिथिला संस्कृतिको संरक्षण, सामाजिक चेतना, राजनीतिक विडम्बना, प्रेम, प्रकृति तथा मानवीय संवेदनाहरू गहिरो रूपमा प्रतिविम्बित थिए ।

प्रमुख अतिथि अशोक दत्तले मिथिला साहित्य समाजको योगदानको प्रशंसा गर्दै स्थानीय भाषामा सिर्जनात्मक लेखन र नियमित कवि गोष्ठीको महत्वमाथि जोड दिए ।

अध्यक्ष मनोज प्रेमेशले भने, ‘मैथिली भाषा र साहित्य हाम्रो अस्तित्व र पहिचानसँग गाँसिएको विषय हो । यसको निरन्तर अभ्यास र विस्तारले मात्रै हामी हाम्रो सांस्कृतिक जग बचाउन सक्छौं ।’

उनले यस्ता गोष्ठीहरू साहित्यिक अनुशासनको निरन्तर अभ्यास र पीढी अन्तरालबीचको सेतुका रूपमा काम गर्ने उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन अभिष्ट नारायण झाले गरेका थिए ।