जनकपुरधाम, २० वैशाख । जानकीको जन्मोत्सवलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै शनिवार जनकपुरधाममा एक दबाबमूलक र्‍याली निकालिएको छ । जानकी मन्दिर परिसरबाट सुरु भएको उक्त र्‍यालीमा साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

र्‍यालीमा सहभागीहरूले ‘जननी जानकीको अपमान किन?’, ‘जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !’, ‘हाम्रो आस्था–हाम्रो अधिकार’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ जस्ता माग गरेका थिए । उनीहरूले जानकी नवमीको अवसरमा वैशाख २३ गतेलाई राष्ट्रिय विदा घोषणा गर्न माग गर्दै सरकारलाई चेतावनी पनि दिए ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले र्‍यालीको नेतृत्व गर्दै संघीय सरकारको चासोहीनताप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘जानकीको जन्मोत्सव हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक अस्तित्वसँग प्रत्यक्ष जोडिएको पर्व हो । बुद्ध जयन्तीमा विदा हुन्छ । तर, जानकी नवमीमा किन हुँदैन? यो धार्मिक भेदभाव हो । आस्थाको अपमान हो ।’

महन्थ दासले जानकी नवमीको महत्व मिथिला वा तराईको सीमामा मात्र नदेखी सम्पूर्ण भारत–नेपालको साझा सांस्कृतिक परम्परासँग जोडिएको उल्लेख गरे । ‘राम जन्मभूमि अयोध्यालाई जति महत्त्व दिइन्छ, जानकी जन्मभूमि जनकपुरलाई पनि त्यत्तिकै सम्मान मिल्नुपर्छ,’ उनले भने ।

उनका अनुसार जानकी नवमी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र अवसर हो । यसको राष्ट्रिय मान्यता नदिँदा नेपाल सरकार हिन्दू जनताको भावनासँग खेलिरहेको छ । उनले भने, ‘यदि हाम्रो आवाज राज्यका कानसम्म पुगेन भने हामी बाध्य भएर सडकबाट आन्दोलन चर्काउनेछौं ।’

यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय विदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राखिनुपर्ने माग गरिएको थियो । तर, अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

र्‍यालीमा सहभागी जनकपुरधामका सामाजिक अभियन्ता र बुद्धिजीवीहरूले समेत हिन्दू पर्वहरूप्रति भइरहेको राज्यको विभेदपूर्ण दृष्टिकोणको आलोचना गरे । उनीहरूका अनुसार बहुसंख्यक धर्मावलम्बीको आस्थासँग जोडिएको चाड पर्वलाई बेवास्ता गर्नु राष्ट्रको असंवेदनशीलता हो ।

विश्व हिन्दू परिषद्का अध्यक्ष संतोष साहले भने, ‘यदि नेपाल धर्मनिरपेक्ष राष्ट्र हो भने सबै धर्म र संस्कृतिलाई समान दृष्टिकोणले हेर्नुपर्छ । तर, केही चाडपर्वलाई मात्र प्राथमिकता दिइन्छ भने त्यो धर्मनिरपेक्षताको उल्लंघन हो ।’