कांग्रेस मधेश प्रदेशको एक दिने अभिमुखीकरण सम्पन्न

जनकपुरधाम, २० वैशाख । नेपाली कांग्रेस मधेश प्रदेशले संगठनलाई थप सुदृढ र गतिशील बनाउने उद्देश्यले आयोजना गरेको विभागीय प्रमुखहरू तथा पदाधिकारीहरूको एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको सांगठनिक मजबूतीका लागि सबै स्थानीय तहमा रहेको संगठनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रका सबै नेता तथा कार्यकर्तालाई पूर्ण इमानदारीका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै भने, ‘मधेशमा कांग्रेसलाई बलियो बनाउनु र पहिलो पार्टीको रूपमा स्थापित गराउनु हाम्रो साझा दायित्व हो ।’
सभापति यादवले मधेश प्रदेशमा विभिन्न बहानामा भइरहेका बेथिति तथा अनियमितताहरूको अन्त्य गर्न कांग्रेसको आदर्श, नीति र सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने धारणा राखे । उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको हित, संगठनको सुदृढीकरण तथा जनताको सेवामा समर्पित भएर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।
कार्यक्रममा पार्टीका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले विभागीय प्रमुखहरूलाई कांग्रेसको नीति, विधान, कार्यपद्धति र आचारसंहिता सम्बन्धमा स्पष्ट जानकारी दिँदै आफूले पाउने जिम्मेवारीप्रति जिम्मेवार र निष्ठावान् बन्न आह्वान गरे । उनले भने, ‘संगठन बलियो बनाउने जिम्मेवारी विभागीय प्रमुखहरूकै काँधमा छ ।’
त्यस्तै, प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहले पार्टीको विधान अध्ययन गर्न र त्यसअनुसार काम कर्तव्य बुझ्न आग्रह गरे । उनले विभागीय प्रमुखहरूलाई सांगठनिक संयन्त्र र संरचना भित्र रहेर पार्टीको नीति अनुसार काम गर्नुपर्ने उल्लेख गरे ।
अभिमुखीकरण कार्यक्रममा सहभागीलाई प्रशिक्षित गर्न कोशी प्रदेश सभापति उद्धव थापा विशेष अतिथिका रूपमा जनकपुरधाम आएका थिए । उनले आफ्नो सम्बोधनमा कांग्रेसलाई बलियो बनाउन पदाधिकारी तथा विभागीय प्रमुखहरूको भूमिका निर्णायक हुने बताए । ‘प्रदेशस्तरीय संरचना मात्र होइन, गाउँ–नगर तहसम्मको संगठन चलायमान बनाउन यिनै प्रमुखहरूको अग्रसरता अपरिहार्य छ,’ उनले भने ।
नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा भएको एक दिने अभिमुखीकरणमा विभागीय प्रमुखहरू, सचिवहरू, प्रदेश पदाधिकारीहरू लगायत सयौँ कार्यकर्ताको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


