जनकनन्दिनीमा कांग्रेस त्यागेर जसपामा प्रवेश

जनकपुरधाम, २० वैशाख । धनुषाको जनकनन्दिनी गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरेका गाउँ समिति सचिव बिन्देश्वर साह ‘बिन्दे’ लाई औपचारिक रूपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा गम्छा र अबिरसहित स्वागत गरिएको छ ।
२०५४ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका बिन्देश्वर साहले २०८२ सालसम्म पार्टीको गाउँ समिति सचिव पदमा रहेर काम गरेका थिए । तर, पछिल्लो समय कांग्रेसको भित्रि असमझदारी र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै अब आफू मधेशवादी एजेन्डा बोकेको दलमा लाग्ने निर्णय गरेको उनले बताएका छन् ।
पालिका अध्यक्ष तथा जसपा नेपालका जिल्ला सदस्य दिपिनदेव यादवको उपस्थितिमा आयोजित पार्टी प्रवेश समारोहमा साहले जसपाको नीति, विचार र कार्यशैलीले आफूलाई आकर्षित गरेको बताए ।
उनले भने, ‘मधेश र मधेशी जनताको हक अधिकारका लागि आवाज बुलन्द गर्न जसपा नै उपयुक्त दल हो भन्ने महसुस गरेपछि आजबाट म यो पार्टीमा आबद्ध भएको छु ।’
पालिका अध्यक्ष यादवले बिन्देश्वर साहको प्रवेशप्रति स्वागत व्यक्त गर्दै भने, ‘जनकनन्दिनी गाउँपालिकाको राजनीतिक परिदृश्य परिवर्तनको दिशामा छ । हामी जसपामार्फत मधेश र स्थानीय विकासका एजेन्डालाई संस्थागत गर्न प्रतिबद्ध छौं । साहजस्ता अनुभवि र समर्पित व्यक्तित्वको आगमनले हाम्रो अभियानलाई अझ उर्जा प्रदान गर्नेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


