‘सत्यको पक्षमा कलम चलाउने र जानकीभूमिको गरिमा जोगाउने संकल्प जरुरी’

जनकपुरधाम, २० वैशाख । आजको दिन जनकपुरधामका लागि एउटा विलक्षण संयोगको दिन रह्यो । एकातिर मिथिलाकी आत्मा, नारी आदर्श र त्यागकी मूर्तिमूर्ति जानकी माता सीताको जन्मोत्सव ‘जानकी नवमी’ सप्ताहव्यापी रुपमा मनाइँदैछ भने अर्कातिर सत्यको पक्षमा कलम चलाउनेहरूको दिवस ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ पनि आजै परेको छ ।
यस विशेष अवसरमा जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले जनकपुरधामको वर्तमान अवस्था र पत्रकारिताको सन्दर्भमा गहिरो चिन्ता प्रकट गर्दै भने, ‘जुन भूमि जानकीले पाइलो टेकेकी थिइन्, आज त्यही भूमि आस्था र अस्मिताको संघर्ष स्थल बन्न पुगेको छ ।’
मिश्रका अनुसार जनकपुरधाम केवल धार्मिक केन्द्र मात्र नभई सांस्कृतिक सभ्यताको पनि केन्द्र हो । यसको संरक्षण हामी सबैको कर्तव्य हो । तर, आज त्यो भूमि विभिन्न अतिक्रमण, अपसंस्कृति र अनियन्त्रित व्यापारको चपेटामा परेको छ ।
‘जानकी मन्दिरको फुलबारी अतिक्रमणमा परिरहेको छ । परिक्रमा मार्गहरूमा मांस–मदिराको व्यापार भइरहेको छ । धार्मिक स्थलहरू डम्पिङ साइटमा परिणत भएका छन्,’ मिश्रले दुःख व्यक्त गर्दै भने ।
उनका अनुसार जानकी नवमी केवल पूजापाठको पर्व नभई आत्मावलोकनको अवसर पनि हो । के हामी साँच्चिकै जानकीको आदर्श र गरिमालाई जोगाइरहेका छौं?
यसै सन्दर्भमा मिश्रले पत्रकारहरूको अवस्थाप्रति पनि चिन्ता जनाए । प्रेस स्वतन्त्रता दिवसमा सन्देश दिँदै उनले भने, ‘प्रेस केवल समाचारको स्रोत होइन, त्यो समाजको आत्मा हो । तर, जनकपुरमा सत्य बोल्न खोज्ने पत्रकारमाथि दबाब, धम्की र चरित्रहत्या भइरहेका छन् ।’
उनले थपे, ‘जब सत्य लेख्ने कलमलाई डर देखाइन्छ, त्यतिबेला समाज मौनतामा घोत्लिन्छ । सत्य दबाउने प्रयास केवल पत्रकारमाथि प्रहार होइन, त्यो लोकतन्त्रकै आत्मामाथि आक्रमण हो ।’
मिश्रले जनकपुरवासी र सम्पूर्ण मधेशवासीहरूलाई आह्वान गर्दै भने, ‘अब मौन बस्ने समय छैन । जानकीको नाममा राजनीति गर्नेहरूले जानकीको भूमिमा कस्तो अत्याचार भैरहेको छ भनेर आत्मावलोकन गर्नुपर्छ । यदि हामीले आज बोल्न छोड्यौं भने सत्यको आवाज सधैँका लागि हराउनेछ ।’
उनको भनाइ अनुसार प्रेस स्वतन्त्रता र धार्मिक गरिमाको संरक्षण एउटै सिक्काका दुई पाटो हुन् । दुवैलाई बचाउने साझा लडाइँ आजको आवश्यकता छ ।
मिश्रले भने, ‘आजको दिन हामी सबै मिलेर संकल्प गरौं, जानकी धामको सांस्कृतिक सम्पदा जोगाउनेछौं, धार्मिक स्थलहरूलाई अपवित्र हुने बाटोमा जान दिनेछैनौं, सत्य लेख्ने पत्रकारहरूको पक्षमा दृढतापूर्वक उभिनेछौं ।’
उनी भन्छन्, ‘साँचो सदभाव तबमात्र हुनेछ, जब जानकीको भूमिमा सत्य, शुद्धता र स्वतन्त्रताको शासन हुनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


