मधेश प्रदेशसभा परिसरको सौन्दर्यीकरण तीव्र

जनकपुरधाम, २० वैशाख । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज मधेश प्रदेशसभा परिसरको सौन्दर्यकरण तथा पूर्वाधार विकास योजनाअन्तर्गत तीन महत्वपूर्ण संरचनाको शिलान्यास गरेका छन् ।
शिलान्यास गरिएका योजनाहरूमा पानीको फोहोरा (फाउन्टेन) निर्माण, प्रदेशसभाको मुख्यद्वार निर्माण र अन्य सहायक प्रवेशद्वारहरूको निर्माण रहेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै सभामुख मण्डलले भने, ‘प्रदेशसभा जनप्रतिनिधिको थलो मात्र नभई मधेश प्रदेशको पहिचान झल्काउने गरिमायुक्त स्थल हो । त्यसैले यसको भौतिक स्वरूप पनि त्यही स्तरको हुनु आवश्यक छ ।’
सभामुख मण्डलका अनुसार प्रदेशसभाको संरचना केवल भवनमा सीमित हुन नहुने र यसको वातावरण, प्रवेशद्वार तथा बाहिरी स्वरूप समेत आम नागरिकले सम्मानपूर्वक हेर्ने गरी बनाइनु आवश्यक रहेको छ ।
उनले थपे, ‘सौन्दर्यकरणका यी प्रयासहरूले प्रदेशसभाको गरिमा बढाउनुका साथै जनतासँगको सम्बन्ध अझ आत्मीय बनाउने विश्वास लिएको छु ।’
प्रदेशसभाको मुख्य प्रांगणमा निर्माण हुने पानीको फोहोरा (फाउन्टेन) भवनको आकर्षण केन्द्र बन्नेछ । सभामुखको भनाइअनुसार यो फोहोरा आधुनिक प्रविधिसहितको हुनेछ । यसले साँझको समयमा रोशनी र ध्वनिको संयोजनमार्फत थप सौन्दर्य दिन्छ ।
प्रदेशसभाको मुख्यद्वार मधेशको सांस्कृतिक शैली र वास्तुकलालाई झल्काउने गरी निर्माण गरिनेछ । यसले एकातिर पारम्परिक मूल्य झल्काउनेछ भने अर्कातर्फ आधुनिक प्रदेशको पहिचान पनि दिने उनले बताए ।
निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गरिने उद्देश्यसहित योजना अघि बढाइएको र आवश्यक बजेट सुनिश्चित भइसकेको जानकारी दिइएको छ ।
सभामुख मण्डलले प्रदेश सरकार र निर्माण व्यवसायीलाई पारदर्शिता, जवाफदेहिता र गुणस्तरीयता कायम गर्न आग्रह गरेका छन् ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


