जनकपुरधाम, २० वैशाख । आज वैशाख २० गते, अर्थात् मे ३ मा विश्वभर मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरधाममा प्रभातफेरी तथा पत्रकारहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

‘नयाँ साहसिक विश्वमा पत्रकारिता, प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमताको प्रभाव’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी महासंघको कार्यालयबाट सुरु भई रामचोक, सोनारपट्टी, जानकी मन्दिर, जनक चौक हुँदै पुनः महासंघको कार्यालयमै पुगेर समापन भएको थियो । कार्यक्रममा धनुषाका पत्रकार, सञ्चारकर्मी, संघका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रभातफेरीको क्रममा सहभागीहरूले प्रेस स्वतन्त्रता सुनिश्चित गरिनुपर्छ भन्ने माग उठाए । हाल मिडियामाथि देखिएको राजनीतिक, आर्थिक तथा प्रविधिमार्फत हुने हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको वातावरण सृजना गर्न आग्रह गरे ।

महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले भने, ‘प्रेस स्वतन्त्रता कुनै उपहार होइन, यो निरन्तर संघर्षबाट सुरक्षित गरिनुपर्ने अधिकार हो ।’

सोही अवसरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरको सहयोगमा पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर पनि आयोजना गरिएको थियो ।अध्यक्ष गुप्ताका अनुसार पत्रकारहरू दिनरातको खटाइ र अस्थिर जीवनशैलीका कारण स्वास्थ्य जोखिममा पर्ने भएकाले नियमित परीक्षण आवश्यक छ ।

शिविरमा बीएमआई, उच्च रक्तचाप, मधुमेह, मृगौला परीक्षण तथा महिलाका लागि पाठेघर मुखको स्क्रिनिङ्ग सेवा उपलब्ध गराइएको थियो ।

कार्यक्रमको मूल नारा ‘कृत्रिम बुद्धिमताको प्रभाव’ ले वर्तमान पत्रकारिता पद्धतिमा देखा परेका प्रविधिगत परिवर्तनमाथि पनि बहसको संकेत गरेको छ ।

पत्रकारितामा एआईको प्रयोगले सूचना संकलन, विश्लेषण र प्रकाशन प्रक्रियामा सहजता ल्याए तापनि यसको दुरुपयोग, पूर्वाग्रही सामग्री उत्पादन र मानव श्रम विस्थापनजस्ता चुनौतीहरू पनि देखिन थालेका छन् ।

नेपाल पत्रकार महासंघले यस विषयमा चाँडै नै नीति तहको संवाद सुरु गर्ने बताएको छ ।