जनकपुरधाम, २० वैशाख । जनमत पार्टीका पूर्वउपाध्यक्ष इन्जिनियर दीपककुमार साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आरोप लगाउँदै पार्टीभित्रकै नेताहरूबाट निर्दोष मधेशीहरूमाथि राजनीतिक प्रतिशोध चलाइएको बताएका छन् ।

उनले लेखेका छन्, ‘जब रक्षकले नै भक्षकको रूप लिन्छ, जब आफ्नो भनेर मानेकोले नै पीडामा पार्छ — त्यो क्षणभन्दा पीडादायक अरू केही हुँदैन ।’

डा. सीके राउत र डा. शरद यादवले आफ्नै पार्टीकी सांसद ललिता यादव र उनका श्रीमान् ई. सुरेन्द्र नारायण यादवमाथि झूट्टा मुद्दा लगाउँदै सताउने काम गरिरहेको साहको आरोप छ ।

पूर्वउपाध्यक्ष साहका अनुसार सांसद ललिता यादवले विगतमा डा. राउत र उनका परिवारलाई जनकपुर र ईमाडोलमा बस्न घर दिई सहयोग गरेकी थिइन् । तर, आज उनी नै त्यही व्यक्तिहरूको षड्यन्त्रको सिकार हुन बाध्य भएकी छन् ।

‘हिजो आश्रय दिएकी महिला आज प्रहरीमार्फत पक्राउ गराउन खोजिन्छिन् — यो कस्तो राजनीति हो?’ साहले आक्रोश पोख्दै भनेका छन् ।

उनको दाबी अनुसार डा. सीके र डा. शरद यादवले सांसद यादव र उनका श्रीमानमाथि २० पटकसम्म झूटा मुद्दा लगाएर बर्बाद बनाउने धम्की दिएका छन् । यी आरोपहरू हालसालै सार्वजनिक भएका र उच्च अदालत पाटनमा दायर रिटमाथि सुनुवाइसमेत अघि बढिसकेको छ ।

साहले भनेका छन्, ‘हामी मधेशीहरूलाई सताउने क्रम अझै रोकिएको छैन । तर, अब धेरै भयो । हाम्रो मौनता अब कमजोरी बन्न दिनुहुदैन । अब हामी उठ्नुपर्छ । अन्यायको विरुद्ध बोल्नुपर्छ । निर्दोषलाई बचाउनुपर्छ ।’

उनले राजनीतिक अवसरवाद, आन्तरिक षड्यन्त्र र सत्ताका लागि भएको चरम दुरुपयोगप्रति चिन्ता व्यक्त गरेका छन् । उनले सम्पूर्ण जनसमुदायलाई सचेत र संगठित भएर सत्यका पक्षमा उभिन आह्वान गरेका छन् ।

‘हामी एकजुट भयौं भने अन्यायकर्मीहरू आफै लत्रिन्छन् । सचेत बनौं, संगठित बनौं र सत्यका लागि संघर्ष गरौं,’ उनले भने ।