जनकपुरधाम, २० वैशाख । जानकी नवमीको अवसरमा राष्ट्रिय विदा घोषणा हुनुपर्ने माग गर्दै जनकपुरधाममा आज दिउँसो ४ बजे विशेष दबाब र्‍याली आयोजना हुँदैछ । जानकी मन्दिरको प्राङ्गणबाट सुरु हुने यो र्‍यालीको मुख्य उद्देश्य जानकी नवमीको दिन राष्ट्रिय विदाको माग हो ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले संघीय सरकारको चासोहीनताप्रति आक्रोश व्यक्त गर्दै भने, ‘जननी जानकीको जन्मोत्सव हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको विषय हो । बुद्ध जयन्तीमा राष्ट्रिय विदा हुन्छ । तर, जानकी नवमीमा किन हुँदैन? यो हाम्रो आस्थाको अपमान हो ।’

उनका अनुसार जानकी नवमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । यसको महत्व केवल मिथिला वा तराईमा सीमित छैन, यसले सम्पूर्ण भारत–नेपालको साझा सांस्कृतिक इतिहास बोकेको छ । ‘राम जन्मभूमि अयोध्या जति नै जानकी जन्मभूमि जनकपुर पनि पवित्र छ । यदि अयोध्यालाई राष्ट्रिय गौरवको रुपमा लिइन्छ भने जनकपुरलाई बेवास्ता गर्नु अन्याय हो,’ उनले थपे ।

यसअघि वैशाख ७ गते नै जनकपुरका साधु–सन्तहरूले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत संघीय सरकारलाई औपचारिक ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय विदा दिनुपर्ने माग गरिएको थियो । तर, अहिलेसम्म सरकारले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन ।

महन्थ दासले भने, ‘हाम्रो आवाज राज्यको कानसम्म पुगेन भने हामी सडकमा उत्रन बाध्य हुन्छौं । आजको र्‍याली सरकारलाई सजग गराउने माध्यम हो ।’

दबाब र्‍यालीमा जनकपुरधामका विभिन्न संघ–संस्था, नागरिक समाज, धर्मगुरुहरू तथा सर्वसाधारणको सक्रिय सहभागिता अपेक्षित गरिएको छ । आयोजक समितिका अनुसार र्‍याली जानकी मन्दिर प्राङ्गणबाट सुरु भई नगरका मुख्य भाग परिक्रमा गर्नेछ ।

महन्थ दासले धर्म–संस्कृतिलाई राज्यले समदृष्टिले हेर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘राष्ट्र धर्मनिरपेक्ष हो भने सबै धर्म र संस्कृतिलाई सम्मान गर्नुपर्छ । तर, यहाँ केही चाडपर्वलाई मात्र प्राथमिकतामा राखिन्छ, जुन सह्य छैन ।’

जनकपुरधामका स्थानीयवासीहरू पनि महन्थ दासको भनाइसँग सहमत देखिएका छन् ।