जनकपुरधाम, १९ वैशाख । ‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ जनकपुरधाममा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस २०८२ भव्य रूपमा मनाइएको छ । नेपाल क्यान महासंघ धनुषा शाखाको आयोजनामा शुक्रबार प्रभातफेरी कार्यक्रम सम्पन्न भयो ।

सूचना प्रविधिको विकास र उपयोगलाई व्यापक बनाउँदै ‘डिजिटल नेपाल’ निर्माणको अभियानमा सहयोग पुर्याउने उद्देश्यसहित आयोजना गरिएको प्रभातफेरीमा विभिन्न विद्यालय, कलेजका विद्यार्थी, आईटी व्यवसायी, सरकारी कर्मचारी, नागरिक समाज, सञ्चारकर्मीको उल्लेखनीय सहभागिता देखिएको थियो ।

प्रभातफेरीमा सहभागीहरूले प्लेकार्ड, ब्यानर र नारा सहित प्रविधिको उपयोग र महत्वबारे जनचेतना फैलाउने प्रयास गरेका थिए । ‘डिजिटल सेवा हाम्रो अधिकार’, ‘सूचना प्रविधि समृद्धिको आधार’, ‘साइबर सुरक्षा सबैको जिम्मेवारी’ जस्ता नाराले प्रभातफेरीलाई सजाइएको थियो ।

क्यान महासंघ धनुषाका अध्यक्षले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भने, ‘यो दिवस प्रविधिको महत्व बुझाउने मात्र नभई जनमानसमा डिजिटल साक्षरताको चेतना फैलाउने अवसर पनि हो । जनकपुर जस्तो धार्मिक, सांस्कृतिक सहर पनि प्रविधिमा अब पछाडि रहने छैन भन्ने सन्देश हामी दिन चाहन्छौं ।’

उनले स्थानीय तहदेखि संघीय सरकारसम्म सूचना प्रविधिमा लगानी र प्राथमिकता बढाउनुपर्ने आवश्यकता औंल्याए । नेपालले सन् २०१९ देखि सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन थालेको हो । पछिल्ला वर्षहरूमा इन्टरनेट पहुँच, मोबाइल प्रविधि, अनलाइन सेवा, डिजिटल बैंकिङ, ई–गभर्नेन्स लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भए तापनि ग्रामीण भेगमा प्रविधिको पहुँच अझै सन्तोषजनक छैन ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा युवा आईटी व्यवसायीहरूले डिजिटल दक्षताको आवश्यकतालाई जोड दिँदै प्रविधिमा भविष्य देखेका छन् । उनीहरूले सरकारले डिजिटल शिक्षा र साइबर सुरक्षामा थप लगानी गर्नुपर्नेमा जोड दिए ।