काठमाडौँ, १९ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महिलामा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने घोषणा गरेको छ । यसका साथै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था पनि लागू गरिनेछ ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलामा हुने पाठेघरको क्यान्सरको रोकथामका लागि एचपीभी खोपलाई नियमित खोप कार्यक्रमको भाग बनाउने निर्णयको जानकारी दिएका छन् । यस खोपले पाठेघरको क्यान्सरको जोखिमलाई कम गर्न ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति पौडेलले भने, ‘दुर्गम क्षेत्रमा बसोबास गर्ने गर्भवती र सुत्केरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ । साथै, जेष्ठ नागरिकका लागि पनि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।’

राष्ट्रपति पौडेलले क्यान्सरका विभिन्न प्रकारका उपचार सेवाहरूलाई १४ वर्षमुनिका बालबालिकाहरूका लागि निःशुल्क उपलब्ध गराउने निर्णयको घोषणा गरेका छन् । यसले क्यान्सरका शिकार बालबालिकाको उपचारमा महत्त्वपूर्ण मद्दत पुर्याउने विश्वास गरिएको छ ।

सरकारले दुर्गम र दूरदराजका क्षेत्रमा बसोबास गर्ने गर्भवती र सुत्केरी महिलाहरूका लागि स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । त्यसैगरी, सरकारले जेष्ठ नागरिकका लागि पनि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।