जनकपुरधाम, १९ वैशाख । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ आन्दोलनमा होमिएको नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटीले आज प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै नेकपा एसले नयाँ आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा आफ्नो माग समेट्न आग्रह गरेको छ ।

प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जनजीविकासँग गाँसिएका आधारभूत मुद्दाहरूलाई समाजवादी दृष्टिकोणले सम्बोधन गर्न आग्रह गर्दै कृषि, सिचाइ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा प्रभावकारी र जनमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ ।

ज्ञापनपत्रमा नेकपा एसले हाल मुलुकमा इतिहासकै बलियो सरकार भए पनि त्यसको कार्यशैली जनतामुखी नभएको टिप्पणी गरेको छ । स्थिर सरकार भएको अवस्थामा पनि राजनीतिक नेतृत्व स्वार्थमा लिप्त, पदलोलुप र आत्मकेन्द्रित बन्दै गएको आरोप लगाउँदै ज्ञापनपत्रमा भनिएको छ, ‘राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका नारासहित बनेको सरकार इतिहासले सुम्पेको युगान्तकारी जिम्मेवारीलाई लत्याएर देशलाई विचारहीन, सिद्धान्तविहीन र सत्ताकोलोभी संघर्षमा फसाएको छ ।’

नेकपा एसका नेताहरूले संविधानले सुनिश्चित गरेको समाजवाद उन्मुख राज्यको भावनाअनुरूप नीति कार्यक्रम बनाइनु पर्ने माग गरेका छन् । उनीहरूको भनाइमा नीति निर्माण प्रक्रिया ठूला व्यवसायिक घराना, दलाल पुँजी र संकुचित सत्तावादी सोचको नियन्त्रणमा जान थालेको देखिँदा त्यसले लोकतन्त्रलाई कमजोर पार्ने खतरा निम्त्याउँछ ।

ज्ञापनपत्रमा पेश गरिएको ५२ बुँदे मागपत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षालगायत जनजीवनका विविध पक्ष समेटिएको छ । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा धर्मनाथ प्रसाद साहसँगै नेकपा एसका नेताहरू रत्नेश्वर गोईत यादव, सुधिर साह, प्रमोद यादव, कनिस पटेल, उषा पोखरेल, लक्ष्मी देवी, किसोरी देवी दास लगायतको उपस्थिति थियो । उनीहरूले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मौखिक रूपमा पनि गुनासाहरू राखेका थिए ।

ज्ञापनपत्र बुझाएपछि संक्षिप्त मन्तव्य दिँदै प्रदेश इन्चार्ज साहले भने, ‘हामी सरकारसँग परिवर्तनको माग मात्र नभई समाधानको खाका पनि दिएका छौँ । अब सरकारको ईमानदारी परीक्षणको घडी आएको छ ।’