पहलगाम आतंकी हमलाविरुद्ध सिमरादेखि वीरगंजसम्म विरोध जुलुस

पर्सा, १८ वैशाख । जम्मु–कश्मीरको पहलगाममा भारतीय सुरक्षाफौजमाथि हालै भएको आतंकवादी आक्रमणको विरोधमा राष्ट्रिय एकता अभियानले बाराको सिमरादेखि पर्साको वीरगंजसम्म विरोध जुलुस निकालेको छ ।
बढ्दो उग्रवाद, आतंकवाद र हिंसात्मक गतिविधिको विरोधमा जनचेतना जगाउन अभियानले यस्तो प्रदर्शन गरेको हो ।
विरोध जुलुसमा सहभागीहरूले ‘आतंकवाद मुर्दावाद’, ‘राष्ट्रिय एकता जिन्दाबाद’, ‘शान्ति र समृद्धिको लागि आतंकको अन्त्य होस्’ जस्ता नारा लगाएका थिए ।
विरोध कार्यक्रममार्फत सहभागीहरूले शान्तिपूर्ण तर दृढ सन्देश दिएका थिए कि— आतंकवाद जस्तो कायरतापूर्ण गतिविधि कुनै पनि मुलुक, समुदाय वा धर्मको हितमा हुँदैन ।
विरोध जुलुसमा विद्यार्थी, समाजसेवी, व्यापारी, महिला समूह, युवा संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो । उनीहरूले हातमा विरोधमा लेखिएका प्लेकार्ड बोकेका थिए ।
जुलुसमार्फत सहभागीहरूले छिमेकी राष्ट्र भारतप्रति ऐक्यबद्धता प्रकट गरेका थिए । भारतमा भएको आतंकी गतिविधिको विरोध गर्दै उनीहरूले यस्तो घटना कुनै पनि सार्वभौम राष्ट्रको अस्मिता र सुरक्षामाथिको आक्रमण भएको बताएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


