पर्सा, १८ वैशाख । विवाह, व्रतबन्ध, पूजा, जात्रा लगायतका धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरूमा चरम ध्वनि प्रदूषण तथा आतिशबाजीले सर्वसाधारणको जनजीवनमा प्रतिकूल असर पार्न थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कडा निर्णय लिएको छ । अत्यन्त जरुरी सूचनामार्फत प्रशासनले डीजे, आतिशबाजी र पटाका प्रयोगमा कडा नियन्त्रण लगाउने निर्णय सार्वजनिक गरेको हो ।

चर्को आवाजमा बजाइने डीजे तथा आतिशबाजीमाथि जनस्तरबाट निरन्तर गुनासो आइरहेकामा प्रशासनले यसपालि निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘विवाह, व्रतबन्ध, जात्रा, पूजाजस्ता उत्सवमा डीजे, पटाका र आतिशबाजीको प्रयोगले सर्वसाधारणको दैनिकी एवं जनस्वास्थ्यमा प्रतिकूल असर परेको गुनासो आएकाले बैठकबाट यस्तो निर्णय गरिएको छ ।’

प्रशासनले समाजलाई त्रसित पार्ने गरी गरिने पटाका पड्काउने र आतिशबाजी जस्ता कार्य पूर्ण रूपमा निषेध गरिने, विवाह, व्रतबन्ध, जात्रा, पूजाजस्ता अवसरमा चर्को आवाजमा बजाइने डीजे प्रयोगलाई क्रमशः निरुत्साहित गरिने र हाललाई राति १०ः०० बजेपछि डीजे बजाउन पूर्ण प्रतिबन्ध लगाइने, पार्टी प्यालेस वा होटलहरूले बुकिङ गर्दा आयोजकसँग डीजे र पटाका प्रयोग नगर्ने सर्तमा सम्झौता गरेर मात्र बुकिङ सुनिश्चित गर्नुपर्ने तथा भारतसँगको सीमावर्ती क्षेत्रबाट डीजे उपकरण र पटाका भित्र्याउने प्रयासमा प्रशासनले कडाइका साथ नियमन गर्ने निर्णय गरेको छ ।

प्रशासनले संस्कृति, परम्परा र धर्मको संरक्षण आवश्यक भए पनि त्यसका नाममा आम नागरिकको स्वास्थ्य र मानसिक सन्तुलनमा असर पर्ने खालका क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले सूचनामा भनेका छन्, ‘सभ्य र सुसंस्कृत अभ्यासले हाम्रो परम्परा र संस्कृतिलाई थप परिस्कृत बनाउँछ भन्ने तथ्यलाई मनन गरी यी निर्णय कार्यान्वयन गरिनेछ ।’

जनस्वास्थ्यमा असर पर्ने खालका कार्यक्रमप्रति प्रशासनको निगरानी आवश्यक भएको भन्दै स्थानीयवासीले यो निर्णयको स्वागत गरेका छन् ।