मेहन्दी समारोहमा जसपा नेतृ बबी सिंहद्वारा हवाई फायर

जनकपुरधाम, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादव एक विवादित घटनाको केन्द्रमा परेकी छन् ।
वैशाख ११ गते सर्लाहीको मलंगवा नगरपालिका–५ मा आयोजित मेहन्दी कार्यक्रममा उनले हवाई फायर गरेको पुष्टि भएपछि घटनाले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म तरंग ल्याएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा नेतृ सिंह संगीतमा रमाउँदै नाचिरहेका बेला एक राउन्ड पेस्तोल पड्काएको दृश्य देखिन्छ । पेस्तोलबाट धुवाँ निस्कँदै गर्दा वरपरका व्यक्तिहरू चकित भइरहेका देखिन्छन् । भिडियोमा अर्का एक युवकले उक्त पेस्तोल समाउँदै गरेको देखिन्छ ।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले नेतृ सिंहलाई सोधपुछका लागि बोलाएको थियो । प्रारम्भिक बयानका आधारमा प्रहरीले सर्लाही प्रहरीलाई खबर दिएको थियो । त्यसपछि मलंगवा नगरपालिका–२ निवासी अञ्जनी कुमारको घरमा खानतलासी गर्दा उक्त पेस्तोल फेला परेको हो ।
सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार, ‘नेतृ सिंहले ११ गते वसन्त कुमारकी छोरी कोमल सुप्रियाको मेहन्दी कार्यक्रममा मलंगवा–५ स्थित भाँड्चौर भन्ने स्थानमा पेस्तोल पड्काएको स्वीकार गरेकी छन् ।’
प्रहरीका अनुसार बरामद गरिएको पेस्तोल बारुदमात्रै पड्किने प्रकारको हो र मानवीय क्षति पुर्याउने हैसियतको छैन । तथापि, सार्वजनिक कार्यक्रममा हतियार प्रदर्शन र हवाई फायर गर्नु कानुनविपरीत कार्य हो । यसले थप अनुसन्धानको आधार तयार पारेको छ ।
भिडियो भाइरल भएपछि नेतृ सिंहले घटनास्थल भारतको सीतामढी भएको दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् । तर, प्रहरीले अनुसन्धानमार्फत पत्ता लगाएको स्थान सर्लाहीकै भएको पुष्टि भएपछि उनको दाबी विवादास्पद बनेको छ ।
उनले भनेकी थिइन्, ‘घटना सीतामढीको हो र प्रयोग गरिएको पेस्तोल ‘खेलौना’ हो । तर, प्रहरीको अनुसन्धानले उनको दाबीको विपरीत तथ्य उजागर गरेको छ ।
नेतृ बबी सिंह यादव राष्ट्रिय सभा सदस्य तथा पार्टी उपाध्यक्ष मृगेन्द्र सिंह यादवकी छोरी हुन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ की बासिन्दा नेतृ सिंह सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय मानिन्छिन् ।
उनको यस्तो गतिविधिले पार्टीभित्र समेत असहजता निम्त्याएको अनुमान गरिएको छ । यद्यपि, पार्टीले यसबारे आधिकारिक धारणा दिएको छैन ।
नेपालको प्रचलित कानुन अनुसार सार्वजनिक स्थानमा हतियार प्रदर्शन गर्नु वा हवाई फायर गर्नु शान्ति सुरक्षाविरुद्धको कार्य मानिन्छ । पेस्तोल कानुनीरूपमा दर्ता गरिएको हो वा होइन भन्नेबारे अझै खुलाइएको छैन ।
यदि अवैध हतियार प्रयोग गरिएको पाइएमा सार्वजनिक शान्ति भंग गरेको अभियोगमा कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने सम्भावना छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


