जनकपुरधाम, १७ वैशाख । धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको जनकपुरधामस्थित गंगासागर पोखरीको उत्तरपट्टिका घाटहरुमा कसैको जानकारीविना सुरु गरिएको निर्माण कार्यलाई स्थानीय बासिन्दा र गंगासागर छठ पूजा समितिले अवैध भन्दै रोकेका छन् ।

न त निर्माणस्थलमा कुनै सूचना बोर्ड राखिएको छ, न त जिम्मेवार निकायबाट कुनै जानकारी नै दिइएको छ । त्यसैले निर्माण कार्यप्रति शंका उत्पन्न भएको हो ।

गंगासागर छठ पूजा समितिका पदाधिकारी भन्छन्, ‘गंगासागर हाम्रो आस्था र संस्कृतिको केन्द्र हो । यहाँ कसैले पनि मनलाग्दी ढंगले निर्माण गर्न सक्दैन । हामीले घाट भत्काउँदै गरेको देखेपछि तुरुन्तै हस्तक्षेप गर्यौं ।’

गंगासागर छठ पूजा समितिका एक पदाधिकारीले भने, ‘कसैले निर्माणको जिम्मा लिएको छैन, होर्डिङबोर्ड छैन, कागजात देखाउँदा नसक्ने ठेकेदारहरु आएर घाट तोड्न थाले । यस्तो गैरजिम्मेवार गतिविधि हामीलाई स्वीकार्य छैन ।’

स्थानीयहरुले ठेकेदारलाई कागजात देखाउन आग्रह गर्दा उनीहरुले आफूलाई कुनै ‘इन्जिनियरले’ निर्देशन दिएको मात्र बताएका थिए । तर, कुन निकायका इन्जिनियर भन्ने खुलाउन सकेनन् ।

गंगासागर क्षेत्र गुठी संस्थान अन्तर्गत पर्ने भए पनि जनकपुरधामस्थित गुठी संस्थानका प्रमुख आनन्द प्रसाद कर्माचार्यले भने, ‘मलाई यस विषयमा कुनै जानकारी छैन । न त हाम्रो कार्यालयमा यसबारे प्रस्ताव आएको छ ।’

गंगासागर सरसफाइ अभियानका संयोजक तथा प्रदेशसभा सदस्य रामअशिष यादवले पनि आफू अनभिज्ञ रहेको बताए । ‘धार्मिक महत्वको संरचनामा सुधार वा पुनर्निर्माण गर्नुपर्छ भने त्यसका लागि प्रक्रिया र पारदर्शिता अनिवार्य हो । यसरी लुकीछिपी कार्य हुनु अनुचित छ,’ उनले भने ।

स्थानीय आशा देवी यादव भन्छिन्, ‘हामी महिला हर वर्ष छठ पर्वमा यही घाट प्रयोग गर्छौं । दुई वर्ष अघि मात्रै मार्बल र टायल्स लगाएर घाट सजाइएको थियो । अब फेरि किन भत्काइँदैछ? बजेट सक्नका लागि हो कि?’

नगरवासीहरुले यस विषयमा जनकपुरधाम उपमहानगरपालिकालाई समेत प्रश्न गरेका छन् । ‘नगरमा यस्तो काम भइरहेको छ । तर, मेयरदेखि वडा अध्यक्षसम्म बेखबर? के यस्तो काम राजनीतिक संरक्षणमा त भइरहेको छैन?’ स्थानीय अर्जुन महतोको जिज्ञासा थियो ।

गंगासागर जस्तो सम्वेदनशील क्षेत्रको संरक्षण तथा विकासका लागि नगर, गुठी संस्थान र प्रदेश सरकारबीच समन्वयको खडेरी देखिएको छ । जनताले पारदर्शिता र जवाफदेहिता माग गरिरहेका छन् ।

जनकपुरधामको धार्मिक महत्व बोकेको गंगासागर पोखरीलाई अव्यवस्थित, अवैज्ञानिक र अवैध निर्माणको चपेटाबाट जोगाउनु सबै सरोकारवाला निकायहरूको साझा जिम्मेवारी हो । स्थानीयले भने, ‘आस्था र परम्पराको नाममा खेलवाड गर्न दिइनेछैन ।’