जनकपुरधाम, १७ वैशाख । जनकपुरधामस्थित ऐतिहासिक कपालमोचनी सरोवरमा यस वर्षको अक्षय तृतीया पर्वको अवसरमा श्रद्धालुहरूको ठूलो भिड देखिएको छ ।

परम्परागत विश्वास अनुसार कपालमोचनी सरमा अक्षय तृतीयाको दिन स्नान गर्दा पुण्य प्राप्ती र पापमोचन हुने जनविश्वासले गर्दा विहानैदेखि दिनभर हजारौं भक्तजन स्नानका लागि सरोवरमा पुगेका थिए ।

स्नान गर्न आउने श्रद्धालुहरूको भिडमा महिलाहरूको उपस्थिति विशेष रूपमा देखिएको थियो । व्रत, पूजापाठ र स्नानको तयारीमा महिलाहरू उत्साहित देखिन्थे ।

धेरैले नयाँ पहिरनमा सरोवरको जलमा डुबुल्की मारेर पूजा अर्चना गरेका थिए । कतिपय महिलाहरूले परिवारजनसँगै सामूहिक पूजाको आयोजना समेत गरेका थिए ।

कपालमोचनी सरोवरलाई पाप मोचन गर्ने तीर्थस्थलको रूपमा चिनिन्छ । जनकपुरधामका पुराना पण्डितहरूका अनुसार यो सरोवरमा स्नान गर्दा मानिसको जीवनमा सकारात्मक परिवर्तन आउने, अशुभ टर्ने र शुभ फल प्राप्त हुने विश्वास गरिएको छ ।

अक्षय तृतीयाको दिन यस सरोवरमा स्नान गर्ने परम्परा सदियौँदेखि चल्दै आएको छ ।