नगराइनमा नेपाल तरुण दलको बैठक सम्पन्न, अधिवेशन सम्बन्धी रणनीतिमा छलफल

जनकपुरधाम, १७ वैशाख । नेपाल तरुण दल धनुषा जिल्ला अन्तर्गत नगराइन नगरपालिका–६ लगमामा बुधबार विशेष बैठक सम्पन्न भएको छ ।
बैठकमा तरुण दलका जिल्ला सभापति संजय लाभ कर्णको रोहबरमा आगामी अधिवेशन तयारी र सदस्यता विस्तार सम्बन्धी छलफल गरिएको हो ।
स्थानीय युवा नेताहरू र सक्रिय सदस्यहरूको उपस्थितिमा सम्पन्न बैठकले संगठन विस्तार, युवाहरूको सशक्तिकरण र तरुण दलको भूमिका अझ प्रभावकारी बनाउन विभिन्न प्रस्तावहरूमाथि विचार–विमर्श गरिएको थियो ।
बैठकमा सहभागिहरूले आउने अधिवेशनलाई लक्षित गर्दै सक्रिय सदस्यता वितरण तथा नविकरण अभियानलाई तीव्र पार्नुपर्नेमा जोड दिएका थिए ।
तरुण दल धनुषाले संगठनलाई जनस्तरमा बलियो बनाउने र युवा नेतृत्वको विकासमा केन्द्रित योजना अघि बढाउने प्रतिबद्धता पनि बैठकमा व्यक्त गरिएको थियो ।
जिल्ला सभापति कर्णले भने, ‘नेपाल तरुण दल परिवर्तनको नेतृत्व गर्ने युवाशक्ति हो । आउँदो अधिवेशन हामी सबैको राजनीतिक परिपक्वताको परीक्षा हुनेछ । त्यसैले हामीले अनुशासन, एकता र सक्रियतासाथ अगाडि बढ्नुपर्छ ।’
बैठकमा नगराइन क्षेत्रका युवाहरूलाई स्थानीय मुद्दाहरूमा अझ सक्रिय बनाउने र सामाजिक सेवामुखी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । साथै, सदस्यता नविकरणको प्रक्रिया पारदर्शी र समावेशी बनाउन टोली गठन गरिने सहमति भएको छ ।
बैठकमा नगराइन नगरपालिकाका मेयर विनय कुमार यादव, नेपाली कांग्रेस वडा नम्बर–६ लगमाका सभापति वीरेन्द्र मण्डललगायतकाहरूको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


