जनकपुरधाम, १७ वैशाख । नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिकी सक्रिय सदस्य अजिता कुमारी पासमानको असामयिक निधनले नेपाली कांग्रेस शोकमा डुबेको जनाएको छ ।

वैशाख १६ गते राति विराटनगरमा उपचारका क्रममा निधन भएकी पासमान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ की स्थायी बासिन्दा थिइन् ।

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले औपचारिक शोक वक्तव्य जारी गर्दै स्वर्गीय पासमानप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भूमिका निभाउँदै आएकी संगठन निर्माणमा समर्पित महिला नेतृको यस अकाल मृत्युले हामी स्तब्ध र मर्माहत भएका छौं ।’

पासमान नेपाली कांग्रेसमा महिला सशक्तिकरणको पक्षमा दृढ रूपमा उभिएकी नेतृ थिइन् । जिल्ला कार्यसमिति सदस्यका रूपमा उनले पार्टीको सांगठनिक विस्तारमा उल्लेखनीय योगदान पुर्याएकी थिइन् ।

पार्टीका जिल्ला सभापति योगेन्द्र पजियारले गहिरो दुःख व्यक्त गर्दै भने, ‘स्व. पासमानको निधन केवल परिवारका लागि मात्र नभइ समग्र कांग्रेस र लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति हो ।’

शोकको प्रतीकस्वरूप नेपाली कांग्रेस धनुषाले वैशाख १८ गते बुधबार पार्टीको कार्यालय बन्द रहने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

जिल्ला कार्यालय सचिव इन्द्रेश झाद्वारा जारी सूचनामा सबै कार्यकर्ता, शुभेच्छुक र सरोकारवालाहरूलाई शोकप्रति सम्मान प्रकट गर्न अनुरोध गरिएको छ ।

नेपाली कांग्रेसका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू तथा सामाजिक अभियन्ताहरूले पासमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।