जनकपुरधाम, १७ वैशाख । नेकपा एमाले धनुषाले जिल्लाको नेतृत्व चयन गर्नका लागि आठौं जिल्ला अधिवेशन वैशाख २० गतेका दिन सुरु हुने भएको छ ।

जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य जुली महतोले अधिवेशनको लोगो र नारा सार्वजनिक गर्दै यसबारे जानकारी दिइन् ।

देशभरका ७७ मध्ये ७६ जिल्लामा अधिवेशन सकिएको अवस्थामा धनुषा जिल्लाको अधिवेशन ७७ औं र अन्तिम अधिवेशन बन्न लागेको हो । पत्रकार सम्मेलनको अगुवाई पार्टीका वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवले गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री महतोले भनिन्, ‘अधिवेशन पार्टीकै आन्तरिक शक्ति र कार्यकर्ताको सहयोगमा आयोजना गर्दैछौं । बाह्य सहयोगको आवश्यकता छैन ।’

अधिवेशनको नारा ‘समृद्ध धनुषा, सुखी जनकपुरः तीन तहमा एमाले सरकार’ तय गरिएको छ । सार्वजनिक गरिएको लोगोमा जानकी मन्दिरमाथि उदाउँदै गरेको सूर्य देखाइएको छ ।

यो एमालेको चुनाव चिन्हको संकेत मात्र नभइ जनकपुरको सांस्कृतिक विरासतप्रतिको सम्मान पनि रहेको महतोले बताइन् । कार्यक्रममा प्रतिनिधिसभा सांसद प्रतिक्षा तिवारी, एमाले नेता सुमन प्याकुरेललगायत नेताहरूको उपस्थिति थियो ।

अधिवेशनले धनुषा जिल्लामा एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । पत्रकार सम्मेलनमा सहभागी रहेका नेताहरूसँग गरिएको छलफल र स्रोतका अनुसार अध्यक्ष पदमा कम्तीमा ७ नेताहरू चर्चामा छन् । यद्यपि आकांक्षी एक दर्जनभन्दा बढी भए पनि राजनीतिमा ‘जे पनि सम्भव’ भएकाले यी सात नाम हालका लागि विशेष रूपमा चर्चामा छन् ।

१. भोला यादव – वर्तमान उपाध्यक्ष, संगठनभित्र राम्रो पकड राख्ने नेता
२. सन्तोष यादव – प्रदेश सांसद प्रत्यासी, राजनीतिक अनुभव र जनाधारमा बलियो
३. शिव शंकर साह ‘हिरा’ – जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी, स्थानीय क्षेत्रमा प्रभावशाली
४. सुरेन्द्र भण्डारी – जनकपुरधाम उद्योग व्यवसाय संघ अध्यक्ष, व्यवसायिक क्षेत्रको प्रतिनिधित्व
५. लक्ष्मी यादव – पूर्व सचिव, पार्टीमा लामो योगदान
६. अनिल यादव – पूर्व मेयर, मिथिला विहारी, स्थानीय तहको अनुभव
७. राजकिशोर यादव – वर्तमान अध्यक्ष, निरन्तरताका पक्षमा समर्थकहरू सक्रिय

यद्यपी शिवशंकर साह हिराले भने आफू नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा कुनै पनि पदको लागि उम्मेदवार नरहेको जानकारी दिएका छन् । उनले गलत भ्रम सिर्जना नगर्न आग्रहसमेत गरेका छन् ।

अध्यक्ष पदका आकांक्षी नेताहरूबीच भीत्रभित्रै गुटगत समिकरण बन्न थालेको संकेत देखिन्छ । कतिपयले नेतृत्वमा युवालाई स्थान दिनुपर्ने तर्क गरिरहेका छन् भने केही नेताहरूले अनुभव र निरन्तरतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । अध्यक्षका लागि सशक्त उम्मेदवार बन्न राजनीतिक ‘ड्यामेज कन्ट्रोल’ र गठबन्धनको कसरत तीव्र बनिरहेको बुझिएको छ ।