जनकपुरधाम, १७ वैशाख । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर दीपेन्द्र कुमार साहमाथि भ्रष्टाचार र अनियमितताको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

खानेपानी मन्त्रालय स्रोतका अनुसार अख्तियारमा परेका उजुरीका आधारमा आयोगले इन्जिनियर साहलाई बयानका लागि बोलाएको हो । जनकपुरधामस्थित आयोजनाको कार्यालयमा व्यापक भ्रष्टाचार र अनियमितता गरेको आरोपमा मन्त्रालयमै उजुरी दर्ता भएपछि आयोगले सो विषयमा अनुसन्धान सुरु गरेको हो ।

इन्जिनियर साहमाथि कार्यालय सञ्चालनमा नीति विपरीत निर्णय लिएको, कर्मचारीहरुको मनोबल गिराउने काम गरेको, स्वकीय सचिव र सुरक्षागार्ड बहालजस्ता अधिकारबाहिरका कार्य गरेको लगायतका आरोप छन् । कार्यालयमा करारका सबै कर्मचारी हटाएर आफ्नो निकट व्यक्तिलाई नियुक्त गर्ने, होटलबाटै कार्यालय सञ्चालन गर्ने र उपभोक्ता समितिबाट १० प्रतिशत अग्रिम कमिशन लिने जस्ता कार्यमा संलग्न रहेको उजुरीमा उल्लेख गरिएको छ ।

इन्जिनियर साहले फागुन २२ गतेदेखि जनकपुर आयोजनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका थिए । तर, कार्यभार सम्हालेको दुई हप्तामै कार्यालयका कर्मचारीहरुले उनीविरुद्ध विरोध सुरु गरे । खानेपानी मन्त्रालयमा कर्मचारीहरुले ६ बुँदे संयुक्त निवेदन दर्ता गराउँदै साहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

तालाबन्दीपछि सत्तारुढ दलका स्थानीय नेता र संघीय सांसदहरु समेत इन्जिनियर साहको भूमिकाबाट असन्तुष्ट बने । सिरहा, राजविराज र गौशालाका उपभोक्ता समितिहरुलाई योजनाको पत्र उपलब्ध गराउने क्रममा गरिएको कथित आर्थिक लेनदेन र विवादस्पद समानान्तर समितिहरुको गठनले समस्या झन् चर्किएको बताइन्छ । यसैबीच, खानेपानी मन्त्री प्रदीप यादवलाई समेत तीन जिल्लाका सांसदहरुले हस्तक्षेप गर्दै साहको तत्काल सरुवाको माग गरेका थिए ।

विवाद बढ्दै जाँदा मन्त्रालयले इन्जिनियर साहलाई जनकपुरबाट हटाउने निर्णय गरेको थियो । तर, कर्मचारीहरुले साह अहिले पनि पुनः निमित्त प्रमुखको रूपमा बहालीका लागि दबाब दिइरहेको आरोप लगाएका छन् । उनीमाथि लागेको भ्रष्टाचारका आरोपमा बयानका लागि अख्तियारले पटक–पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन रहेको पनि स्रोतले जानकारी दिएको छ ।

कर्मचारीहरुको आरोपअनुसार साहले अग्रीम रुपमा लिएको भनिएको १० प्रतिशत कमिशन मिलाउन र आफूले बाँडेका कार्ययोजनालाई वैधानिकता दिन जनकपुर आयोजनामा पुनः फर्कन चाहिरहेका छन् ।

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक अनुसन्धान थालेको र उजुरीमा उल्लेखित सबै विषयको विवरण संकलनको प्रक्रिया अघि बढाएको बुझिएको छ ।