जनकपुरधाम, १६ वैशाख । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोप) का केन्द्रीय सदस्य उमेश मण्डलले मधेशका सवाललाई उपेक्षा गर्ने शासकीय सोचले राष्ट्रलाई एकताबद्ध र सुदृढ बनाउन नसकिने धारणा व्यक्त गरेका छन् ।

टुडेआवाजसँग कुराकानी गर्दै नेता मण्डलले मधेशको समावेशीता र पहिचानको मुद्दा अझै पनि गम्भीर रूपमा सम्बोधन नभएको गुनासो गर्दै सत्तामा रहेका दलहरूप्रति असन्तुष्टि पोखेका हुन् ।

उनले भने, ‘मधेशी जनताको अधिकार केवल नारामा सीमित बनाइएको छ । जबसम्म शासकीय संरचनामा समान सहभागिता हुँदैन, तबसम्म राष्ट्रको वास्तविक एकता सम्भव छैन ।’

नेता मण्डलले संविधान संशोधनको आवश्यकता औंल्याउँदै दलहरूलाई ‘मत माग्दा मधेशी भएर जानु, सत्तामा पुगेपछि मधेश बिर्सनु’ प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।

उनले मधेशी युवालाई राजनीतिमा सक्रिय हुन आह्वान गर्दै भने, ‘हामी आफैँ संगठित भइ अधिकारका लागि संघर्ष नगरेसम्म परिवर्तन सम्भव छैन ।’

उनले शिक्षा, रोजगारी, स्वास्थ्य, नागरिकता र भूमि अधिकारजस्ता सवालहरू अझै मधेशमा समाधान हुन नसकेको उल्लेख गर्दै यसबारे ठोस नीति निर्माणको माग गरे ।

मण्डलका अनुसार मधेशका सवालहरू केवल मधेशकै होइनन्, ती राष्ट्रिय एकताको मेरुदण्ड हुन् । उनले राज्य संयन्त्रमा मधेशीको समान प्रतिनिधित्व सुनिश्चित गर्न संघीयता र सामाजिक न्यायको सही कार्यान्वयन अपरिहार्य रहेको बताए ।

‘मधेश र राष्ट्र अलग होइनन्, दुबैको भविष्य एक–अर्कासँग गाँसिएको छ,’ मण्डलले जोड दिए ।