पिपरा गाउँपालिका–५ मा लोसपा नेपालको वडा अधिवेशन सम्पन्न

महोत्तरी, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवा हर्दीयामा वडा अधिवेशन सम्पन्न भएको छ । लोसपा नेपालको पालिका अधिवेशन कार्यक्रम अन्तर्गत सम्पन्न अधिवेशनमा पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अधिवेशन पर्यवेक्षक विरेन्द्र रायको विशेष उपस्थितिमा सम्पन्न भएको हो । वडाध्यक्ष शिवशंकर साहको अध्यक्षतामा सम्पन्न अधिवेशनमा लोसपा नेपालका केन्द्रीय सचिव रमन कुमार ठाकुर प्रमुख अतिथि थिए भने मधेश प्रदेश समिति सदस्य अमित कुमार पाण्डेय, जिल्ला सदस्य ज्ञानेन्द्र झा र पालिका अध्यक्ष विनित पाण्डेय लगायतका नेताहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
लोसपा नेपालको महाअधिवेशन निर्देशिका २०८१ को दफा १ र २ को आधारमा अधिवेशनले बद्री साहको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ । यस नयाँ समितिमा समावेश गरिएका सदस्यहरू स्थानीय तहमा पार्टीको सांगठनिक मजबूतीका लागि अग्रसर हुने जनाइएको छ ।
त्यसैगरी, महाअधिवेशन निर्देशिकाकै दफा २ (९ङ) बमोजिम पालिका अधिवेशनका लागि १६ जना प्रतिनिधिहरू पनि सर्वसम्मतिले चयन गरिएको छ । यी प्रतिनिधिहरूले आगामी पालिका अधिवेशनमा वडा नं. ५ को तर्फबाट सहभागिता जनाउने छन् ।
पालिका अध्यक्ष विनित पाण्डेयले अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराएकोमा सम्पूर्ण आयोजक, सहभागी र नव–निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पार्टीको सांगठनिक सुदृढीकरणमा अझ प्रभावकारी भूमिका खेल्न आग्रह गरे । उनले नवगठित समितिका पदाधिकारीहरूलाई सद्भाव, समावेशिता र संगठन विस्तारलाई केन्द्रमा राखी काम गर्न आग्रह गरे ।
अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता र युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो । अधिवेशनले वडा तहमा लोसपा नेपालको संगठनात्मक संरचना थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


