जनकपुरधाममा भव्यताका साथ जानकी जन्मोत्सव जारी, नौ दिनसम्म विविध धार्मिक र सांस्कृतिक कार्यक्रम

जनकपुरधाम, १६ वैशाख । त्रेतायुगकी पावन आदर्श नारी माता जानकीको जन्मभूमि जनकपुरधाममा सोमबारदेखि जानकी जन्मोत्सव–२०८२ को भव्य शुभारम्भ गरिएको छ ।
जानकी मन्दिरको गर्भगृहमा आयोजित बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रमबाट नौ दिवसीय महोत्सवको औपचारिक शुरुवात भएको हो ।
जानकी मन्दिर परिसरमा सोमबार बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लाग्न सुरु भएको छ । धार्मिक उत्सवमा देश–विदेशका भक्तजनहरूको उपस्थिति रहेको छ । मन्दिर गर्भगृहमा सन्ध्या समयमा हुने बधाई मङ्गलगान र सांस्कृतिक प्रस्तुतिले सम्पूर्ण वातावरण भक्तिमय बनेको देखिन्छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार प्रत्येक वर्षझैं यसपालि पनि अखण्ड रामायण पाठ, जानकी जन्म बधाई गीत, सांस्कृतिक कार्यक्रम तथा रामकथा वाचनलगायत विविध धार्मिक गतिविधि आयोजना गरिएको छ ।
अखण्ड रामायण पाठ जानकी मन्दिरको गर्भगृहमा अनवरत रूपमा सञ्चालन भइरहनेछ । यसबाहेक प्रत्येक दिन अपरान्ह ४ बजे रामकथा वाचन मन्दिरको प्राङ्गणमा हुनेछ । रामकथा वाचनमा यस वर्ष मानस मोहिनी संध्या देवीले वाचन गर्ने कार्यक्रम तय गरिएको छ ।
जानकी जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मंगलबार हुनेछ । सो दिन बिहान ५ बजे जानकी मन्दिरबाट दुधमती शाही स्नानको शोभायात्रा भ्रमरपुरा मार्ग हुँदै जानकी घाटसम्म प्रस्थान गर्नेछ । त्यसपछि दिउँसो १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान सम्पन्न हुनेछ ।

त्यसपछि दिउँसो ४ बजे जानकी मन्दिरको डोला शोभायात्रा आयोजना गरिनेछ । शोभायात्रामा हजारौँ भक्तजनहरूको सहभागिता रहने उत्तराधिकारी महन्त दासले बताए । संध्या ७ बजे विशेष आरती तथा दीपोत्सव गरी मुख्य दिनको समापन गरिनेछ ।
महोत्सवको समापनपछि पनि वैशाख २४ गते मटकोर पूजा तथा २५ गते सिताराम विवाह महोत्सव भव्य रूपमा मनाइने कार्यक्रम तय गरिएको छ । विवाह महोत्सवमा धार्मिक गीत–सङ्गीत, झाँकी र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।
मन्दिरले सम्पूर्ण श्रद्धालु भक्तजनलाई परिवारसहित महोत्सवमा सहभागी भई पुण्य लाभ लिन र जनकपुरधामको ऐतिहासिक महत्त्वलाई अझ गौरवपूर्ण बनाउन अनुरोध गरेको छ ।
महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरू र स्थानीय संघ–संस्थाहरू समन्वयमा तयारी गरिएको छ । श्रद्धालुहरूको सुविधालाई ध्यानमा राखी खानेपानी, विश्रामस्थल, स्वास्थ्य सेवा र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।
जानकी जन्मोत्सव केवल धार्मिक कार्यक्रम मात्र नभई जनकपुरधामको सांस्कृतिक, ऐतिहासिक र धार्मिक पहिचानको प्रतीक रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । जनकपुरधाम अहिले श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहले गुञ्जिएको छ । यसले सम्पूर्ण मिथिलावासी र हिन्दू धर्मावलम्बीहरूलाई एकताको भावमा बाँधेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


