जनकपुरधाममा सांस्कृतिक आतंकवादको सञ्जाल?

जनकपुरधाम, १६ वैशाख । राम–जानकीको नगरी जनकपुरधाममा धर्म, संस्कृति र सभ्यतामाथि आन्तरिक हमला भइरहेको दावी जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले गरेका छन् । जानकी मन्दिर क्षेत्र र ऐतिहासिक स्थलहरूमा भइरहेको अतिक्रमण र अनैतिक व्यापारलाई उनले ‘सांस्कृतिक आतंकवाद’ को संज्ञा दिएका हुन् ।
जनकपुरधामस्थित जानकी मन्दिर परिसरको अविभाज्य अंग मानिने जानकी फुलबारी अतिक्रमणको चपेटामा परेको छ । स्थानीय नागरिक समाजका अनुसार २०७६ सालमै सरकारी रुपमा भएको ‘फुलबारी नापजाँच प्रतिवेदन’ ले फुलबारीको क्षेत्र निर्धारण गरिसकेको भए पनि हालसम्म कार्यान्वयनमा ढिलासुस्ती भइरहेको छ ।
मिश्रका अनुसार धार्मिक क्षेत्र नजिकै मांस र मदिरा खुलेआम बिक्री–वितरण हुनु केवल नैतिक पतन मात्र नभइ सीधै सनातन संस्कृति र श्रद्धाको अपमान हो । जानकी मन्दिर क्षेत्रको नजिकै संचालन भइरहेका होटल–रेस्टुरेन्टहरूले धार्मिक मान्यतामाथि कुठाराघात गरिरहेका छन् ।
‘सीतारामको नगरीमा धर्मको अपमान हुँदैछ, संस्कृति बेचिँदैछ र श्रद्धा लुटिँदैछ । यस्तो काम केवल अतिक्रमण मात्र नभइ सांस्कृतिक आतंकवाद हो,’ मिश्रले भने ।
जनकपुरधामको दुधमती र जलाद नदीहरू धार्मिक रूपमा पूजनीय मानिन्छन् । तर, ती नदीहरूसमेत निजी स्वार्थका लागि अतिक्रमण र तोडमोडमा परेका छन् । मिश्रका अनुसार ती नदीहरूको जल प्रभाव क्षेत्रमा अवैध ढंगले निर्माण, बाँध र माटो उत्खननजस्ता काम हुँदै आएका छन् । यसको उद्देश्य त्यस क्षेत्रलाई निजीकरण गर्नु हो ।
२०७६ सालमा गरिएको फुलबारी नापजाँच प्रतिवेदन सरकारी दस्तावेजमा प्रमाणित भए पनि हालसम्म कार्यान्वयन भएको छैन । सरोकारवाला निकायहरू — स्थानीय, प्रादेशिक र संघीय सरकार, प्रशासन, सुरक्षा निकाय तथा सामाजिक संस्था सबै मौन छन् । ‘सुशासन र कानूनी राज्यका भाषणहरू केवल औपचारिकता मात्र बनेका छन्,’ मिश्रको आरोप छ ।

मिश्र भन्छन्, ‘जुन समूह सार्वजनिक सम्पत्ति लुटिरहेका छन्, श्रद्धा र जनचेतनामा प्रहार गरिरहेका छन्, तिनीहरू भूमाफिया मात्र होइन, सांस्कृतिक आतंकवादी हुन् ।’ उनले भित्री दुश्मन—अतिक्रमणकारी, भ्रष्ट संरक्षक, मौन सत्तासँग पहिला लड्नुपर्ने स्पष्ट निष्कर्ष निकालेका छन् । ‘बाहिरको आक्रमणसँग लड्नुको पहिले घरभित्रका लुटेरा र मौन अपराधीहरूको पहिचान र प्रतिरोध नगरेसम्म त्यो लडाइँ ढोंगमात्र हुनेछ,’ उनले भने ।
यस घटनाक्रमलाई मिश्रले जनकपुरधामको मात्र नभई सम्पूर्ण सनातन हिन्दू धर्म, संस्कृति र परम्पराको अस्तित्वसँग जोडेर हेर्न आग्रह गरेका छन् । ‘जनकपुरधामको आत्मा जोगाउन सके मात्र धर्मको ध्वजा फहराइरहनेछ,’ उनले भने ।
मिश्रले चेतावनी दिँदै भने, ‘अब पनि नजागिए, नचेतिए र आवाज नउठाए सनातन संस्कृति केवल इतिहासका पानामा सीमित हुनेछ । जाग, चेत र प्रतिरोध गर ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


