जनकपुरधामस्थित श्रम कार्यालयबाट ३० हजारलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

जनकपुरधाम, १६ वैशाख । मधेश प्रदेश अन्तर्गत श्रम तथा रोजगार कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको हालसम्मको कार्य विवरण सार्वजनिक गर्दै पाँच जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिएको जनाएको छ । मंगलबार धनुषाको लक्ष्मीनियामा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख दिवाकर भुजेलले यस्तो जानकारी दिएका हुन् ।
कार्यक्रममा प्रमुख भुजेलले भने, ‘हामीले धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी जिल्लाका नागरिकहरूका लागि वैदेशिक रोजगारीसम्बन्धी सेवा प्रवाह गर्दै आएका छौं । चालु आर्थिक वर्षमा संस्थागत, व्यक्तिगत नयाँ र व्यक्तिगत पुनः श्रम स्वीकृति गरी कुल ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिइएको छ ।’
उनका अनुसार श्रमिक अधिकार र सुरक्षाको विषयमा ४६ वटा श्रम सम्बन्धी उजुरी दर्ता भएका थिए । त्यसमध्ये अधिकांशको समाधान भइसकेको छ भने बाँकी उजुरी पनि चालु आवको अन्त्यसम्ममा टुंगो लगाइनेछ । साथै, कार्यालयले ११२ वटा उद्योग प्रतिष्ठानको निरीक्षण गरी श्रम ऐन कार्यान्वयनको स्थिति अनुगमन गरेको उनले बताए ।
भुजेलले भने, ‘हामीले श्रम ऐन २०७४, श्रम नियमावली २०७५, बालश्रम नियन्त्रण तथा सामाजिक सुरक्षासम्बन्धी ऐनहरूको कार्यान्वयनमा निरन्तर सक्रियता देखाएका छौं । तर, सीमित जनशक्ति, स्रोत साधनको अभाव र श्रमिक–रोजगारदाता दुवै पक्षमा चेतनाको कमीले हामीलाई प्रभावकारी रूपमा काम गर्न अवरोध पुर्याइरहेको छ ।’

उनका अनुसार सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ । विशेषगरी साना तथा मझौला उद्योगहरूमा कानुनी दायित्व पालना गर्ने प्रवृत्ति कमजोर देखिएको छ । कार्यक्रममा कार्यालयले प्राप्त गरेका केही उल्लेखनीय उपलब्धिहरूको जानकारी दिइयो । एभरेष्ट पेपर मिल्स प्रालिमा देखिएको श्रम विवाद त्रिपक्षीय छलफलमार्फत समाधान गरिएको, श्रम अदालतका फैसलाहरू कार्यान्वयन गरिँदै तीनवटा उद्योग प्रतिष्ठानका बैंक खाता तथा अचल सम्पत्तिहरू रोक्का गरिएको र आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न गरिएको उल्लेख गरियो ।
साथै, चालु आवमा ११२ वटा बाल श्रम निरीक्षण, ११८ वटा श्रम अडिट र श्रमिक तथा रोजगारदाता लक्षित सचेतना तथा अभिमुखिकरण कार्यक्रमहरू सम्पन्न गरिएका छन् । कार्यालयबाट प्रदान गरिने सबै सेवा प्रणाली अनलाइन माध्यमबाट उपलब्ध गराइएको पनि जानकारी दिइयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष साहले श्रम कार्यालयको पारदर्शिता, उत्तरदायित्व र सरोकारवालासँगको समन्वयलाई प्रशंसा गर्दै आगामी दिनमा श्रम क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न मिडिया र कार्यालयबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा श्रम प्रशासनसम्बन्धी केही चुनौतीहरू पनि उल्लेख गरिए । जसमा विशेषगरी निरीक्षण र अनुगमनमा प्रभावकारिता नहुनु, अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरूको सुरक्षाको प्रत्याभूति नहुनु र कानुनी जानकारीको अभाव प्रमुख रहेको छ ।

भुजेलले भने, ‘श्रमिकको हक र सुरक्षाको संरक्षण हाम्रो प्राथमिकता हो । हामी सीमित स्रोत साधनका बाबजुद पनि श्रमिक हितको पक्षमा काम गरिरहेका छौं । सबै सरोकारवालाहरूको सहकार्य र चासो आवश्यक छ । तबमात्र श्रम ऐनको प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


