सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरमा देशभक्त युवा समूहको आक्रोश

जनकपुरधाम, १६ वैशाख । भारतको पहलगाम नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको समाचारले देशभर शोक र आक्रोशको वातावरण बनाइरहेका बेला जनकपुरधाममा आज देशभक्त युवा समूहको नेतृत्वमा गरिएको विरोध प्रदर्शनले शहरलाई झनै भावुक बनायो । बिक्की साहको नेतृत्वमा गरिएको प्रदर्शनमा सयौं युवा सडकमा उत्रिएर आतंकवाद र त्यसका संरक्षकहरूका विरुद्ध सशक्त आवाज उठाए ।
‘हाम्रो सुदीप, हाम्रो गौरव’, ‘आतंकवाद मुर्दावाद’, ‘पाकिस्तान होसियार’, ‘नेपाली रगत सस्तो छैन’ जस्ता नाराले जनकपुरधाम गुञ्जायमान बन्यो । कार्यक्रमको क्रममा देशभक्त युवा समूहका सदस्यहरू — सञ्जिव कामत, सम्मी मण्डल, नितेश शर्मा र अन्य युवाहरूले आँसुका साथ सुदीपप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्र र नेपाली अस्मिताको रक्षा गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
बिक्की साहले नेतृत्व गरेको जुलुसमा देशप्रेम र रोष मिसिएको थियो । उनले भने, ‘सुदीपको मृत्यु केवल एक युवाको हत्या होइन, यो सम्पूर्ण नेपाली आत्माको अपमान हो । अब हामी चुप बस्दैनौं । देश र नागरिकको सुरक्षा सुनिश्चित नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ ।’
प्रदर्शनका क्रममा सञ्जिव कामत र सम्मी मण्डलले आक्रोश मिश्रित भावनात्मक वक्तव्य दिँदै राज्यसँग सोधे, ‘कति नेपालीको बलिदानपछि मात्र हामी सिमाना सुरक्षित राख्न सक्छौं?’ उनीहरूका आँखामा आँसु थिए, तर स्वरमा विद्रोह थियो ।
कार्यक्रममा स्थानीय युवाहरूले सुदीपको तस्बिर बोकेर नगरको परिक्रमा गरे । नितेश शर्माले भने, ‘हामी न त कुनै दलको हो, न कुनै प्रचारको लागि यहाँ आएका हौं । हामी सुदीपजस्ता असल नेपालीको रगतको न्यायका लागि लड्न आएका हौं ।’
देशभक्त युवा समूहले आगामी दिनहरूमा मधेशका विभिन्न स्थानमा जनजागरण र शान्तिपूर्ण दबाब कार्यक्रम गर्दै जाने घोषणा गरेको छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


