पाकिस्तानी सेना प्रमुखको पुत्ला दहन गर्दै जनकपुरको सडकमा जनसागर

जनकपुरधाम, १६ वैशाख । ‘हाम्रो सुदीप अब फर्कदैन, तर हामी उसको न्यायका लागि लड्नेछौं’ यो आवाज आज जनकचोकमा घन्किरहेको थियो । सयौं जनकपुरवासीले आँखा रसाउँदै एकै स्वरमा आतंकवादको विरोधमा आवाज उठाए । भारतीय राज्य जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा नेपालका युवा सुदीप न्यौपानेसहित २७ जनाको निर्मम हत्या भएपछि जनकपुरको सडक आक्रोशले गुञ्जिएको हो ।
नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा भएको विरोध कार्यक्रमले जनकपुरधामको मुटु मानिने जनकचोकलाई शोक, रोष र एकताले भरिएको मैदानमा रूपान्तरण गर्याे । प्रदर्शनकारीहरू ‘सुदीपलाई न्याय चाहिन्छ’, ‘आतंकवाद बन्द गर’, ‘पाकिस्तानी सेना प्रमुख मुर्दाबाद’ जस्ता नारा लगाउँदै जानकी मन्दिरसम्मको परिक्रमा गरे । प्रदर्शनको प्रमुख क्षण पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरको पुत्ला दहन थियो । उनले आतंकवादी गतिविधिप्रति देखाएको कथित सहानुभूतिको विरोधस्वरूप पुत्ला दहन गरिएको थियो ।
कार्यक्रममा हिन्दु र मुस्लिम समुदायका युवाहरूको संयुक्त सहभागिता उल्लेखनीय रह्यो । उनीहरूले ‘हामी नेपाली छौं, विभाजन होइन, एकता चाहिन्छ’ भन्दै धार्मिक सद्भावको उदाहरण प्रस्तुत गरे । कार्यक्रम संयोजकले भने, ‘सुदीपजस्ता निर्दोष नेपाली नागरिक आतंकवादको सिकार बन्नु घोर अन्याय हो । हामी यस घटनालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएर दोषीलाई कारबाही गराउनेछौं ।’
कार्यक्रमको अध्यक्षता संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवले गरे भने अध्यक्ष राजीव झा प्रमुख अतिथि थिए । सहभागीमध्ये पूर्व जिसस उप–प्रमुख दीपक झा, वडाध्यक्ष दीपेन्द्र साह, समाजसेवी चन्देश्वर साह, नेता सुनिल यादव, कृष्ण कुमार साहलगायत जनप्रतिनिधि र समुदायका अगुवा थिए । चुरे संरक्षण संघर्ष समितिका सदस्यदेखि राष्ट्रिय मुक्ति पार्टीका नेतासम्मले सबै एउटै स्वरमा बोले – ‘हामी सुदीपको पक्षमा छौं ।’
कार्यक्रममा उपस्थित जनसमूहले मौनधारण गर्दै सुदीप र अन्य मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे । यस आक्रोशपूर्ण शान्ति प्रदर्शनले जनकपुरमा मात्र नभई सम्पूर्ण मधेश र नेपालको सामूहिक चेतनालाई झस्काएको छ ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


