जनकपुरधाम, १४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले संसदको शुक्रबारको बैठकमा भाटभटेनी लुटपाट प्रकरणसम्बन्धी व्यक्त गरेको धारणा नेपाली कांग्रेसका सहमहामन्त्रीहरूलाई बदनाम गर्ने गम्भीर षड्यन्त्र भएको कांग्रेसको ठहर छ ।

कांग्रेसका शीर्ष नेताहरूले लिङदेनको अभिव्यक्तिलाई चैत १५ को हिंसात्मक घटनापछि राजावादी र राप्रपाप्रति आम नागरिकमा फैलिएको वितृष्णालाई मोड्न खोजिएको सुनियोजित प्रयासको रूपमा व्याख्या गरेका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले लिङदेनले कुनै सहमहामन्त्रीको नाम नलिएर पनि इशारामै कांग्रेसका नेताहरूलाई अपमान गर्ने प्रयास गरेको आरोप लगाए ।

उनले भने, ‘चैत १५ मा राजावादी र राप्रपाका कार्यकर्ताबाट भएको हत्या, आगजनी र हिंसाले जनता आक्रोशित बनेका थिए । त्यसपछि जनतामा पैदा भएको वितृष्णा कम गर्न कांग्रेसमाथि गलत आरोप लगाउने रणनीति अन्तर्गत लिङदेनको अभिव्यक्ति आएको हो ।’

यादवले आफू लोकतन्त्र र गणतन्त्रको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएको र त्यसै कारण विगतमा पनि आफूमाथि प्रहार भएको प्रसंग उल्लेख गरे ।

‘म निरंकुश राजतन्त्रविरुद्ध सधैँ अगाडि बोलेँ । त्यसैले ममाथि खुकुरी प्रहारसम्म भयो । आज फेरि मिडिया ट्रायलमार्फत मेरो र मेरो परिवारको चरित्र हत्या गर्न खोजिएको छ,’ यादवले गुनासो गरे ।

सहमहामन्त्री यादवले राप्रपा अध्यक्ष लिङदेनको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार र आधारहीन’ भन्दै कडा आलोचना गरे । उनले भने, ‘यदि लिङदेनसँग प्रमाण छ भने स्पष्ट रुपमा कसको नाम हो भन्ने खुलाउनुपर्छ । प्रमाण नभए तुरुन्त माफी मागेर अभिव्यक्ति फिर्ता लिनुपर्छ ।’

यादवले आफूमात्र नभई अन्य सहमहामन्त्रीहरू र चिकित्सक पेशामा रहेका आफ्ना छोराहरूको पनि चरित्र हत्या गरिएको भन्दै त्यसको क्षतिपूर्ति माग गरेका छन् ।

कांग्रेस नेताहरूले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि लिङदेनको अभिव्यक्तिको कडा विरोध जनाएका थिए । प्रतिनिधिसभामा प्राथमिकताका साथ आवाज उठाउँदा लिङदेनको अनुहारमा आएको ‘अस्वाभाविक खुसी’ले पनि उनको नियत स्पष्ट पारेको कांग्रेस नेताहरूले आरोप लगाए ।

’उनले संसदभित्र भनेका शब्दहरूले उनको वास्तविक उद्देश्य जनतासामु प्रकट भयो,‘ नेताहरूले बताए । राजतन्त्रको सन्दर्भमा यादवले भने, ’आजको नेपालमा राजतन्त्र एउटा निरर्थक भ्रम मात्र हो ।‘

उनका अनुसार राजतन्त्रका नाममा जनतालाई भ्रमित गर्ने प्रयासहरू सफल हुन सक्दैनन् र नेपाली जनताको सङ्घर्षबाट प्राप्त लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न सबै कांग्रेस नेता तथा कार्यकर्ताहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको छ ।

जनकपुरधाममा भएको पत्रकार सम्मेलनमार्फत कांग्रेसले राप्रपा अध्यक्ष लिङदेनलाई आफ्नो अभिव्यक्तिका लागि प्रमाण पेश गर्न वा माफी माग्न चेतावनी दिएको छ । यदि त्यसो नगरेमा कांग्रेसले आन्दोलनको बाटो रोज्ने संकेत पनि यादवले दिएका छन् ।